रासस/एएनआइ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताउनुभएको छ । उहाँले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताउनुभएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ ।

 

तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो गरी हालका लागि प्रतिबन्धको घोषणा गरिएको छ । प्रधानमन्त्री जोन्सनले थप प्रतिवन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएकोमा ती प्रतिबन्धहरु त्यति कडा नरहेका बताइएको हो ।

 

 

उहाँले देशका युवाहरुको भविष्यलाई ध्यानमा राखेर विद्यालय, विश्वविद्यालयहरु खोल्न दिइने बताउनुभयो । तर उनीहरुले पनि सुरक्षा सावधानीका कार्यहरु भने पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै सावधानीहरु अपनाएर, व्यापार व्यवसाय, होटल रेष्टुरेन्टहरु पनि सीमित संख्याका व्यक्तिहरुलाई मात्र सेवा दिने गरेर केही खुकुलो गरिने र पहिलेको जस्तो कडा खालको लकडाउन नगरिने भएको हो ।

केही आदेशहरु त जारी गरिएका छन् तर ती आदेशहरु पहिलेको जस्तो कडा खालको नभएको बताइएको हो । बेलायतमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म ३ लाख ९४ हजार २५७ जना संक्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

 

यहाँ दोस्रो चरणमा कोभिडको संक्रमण प्रवेश गरेको बताइएको छ । यसै कारणले यहाँका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो अवस्था पनि आउन सक्ने चेतावनी दिएका थिए । महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले थप प्रतिबन्धहरु घोषणा गर्नुभएको हो ।

यहाँका चिकित्सकहरुले पनि यहाँ कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने बताएका छन् । दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर मात्रामा संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । यो फैलावट यहाँ पहिलो चरणको भन्दा पनि तीव्र रुपमा भएको उनीहरुको भनाइ छ ।
–––

सम्बन्धित खबरहरु