नेपालको कञ्चनपुर जिल्लामा ब्रम्हदेव बजार छ । जहाँ सिद्धनाथको मन्दिर छ। ब्रम्हदेवको मन्दिर माथि जंगलको बीचमा खल्लागोठ, मछेडी क्षेत्रमा छ। यस स्थानको सम्बन्ध महाकाली पारीको पूर्णागिरीको डाँडामा विराजमान भएकी देवीसंग रहेको मानिन्छ। देवीले सिद्धनाथलाई महाकाली पारी (यसका पनि विभिन्न कथा प्रचलित छन) सामुन्ने नेपालतिर बस्नु ।

मेरो दर्शन गर्ने श्रद्धालुको मनोआकांक्षा तिम्रो दर्शन गरे पछि मात्र पुरा हुने वचन दिईन। त्यसैले पूर्णागिरीमा दर्शन गर्न आउने सबै जसो श्रद्धालु सिद्धनाथको दर्शन गर्न महाकाली वारी आउछन। तीमध्ये केही नयाँ ब्रम्हदेव बजारमा सिद्धनाथको दर्शन गर्छन। केही महेन्द्रनगर बजार आउछन। जहाँ सिद्धनाथको मन्दिर छ ।

अनौठो कुरा त के छ भने त्यहाँ मन्दिर नजिकबाट पारी भारत र वारी नेपाल गर्नका लागि कुनैबेला तारघाटको ब्यवस्था थियो। त्यस स्थानमा डुंगाको पनि प्रयोग हुन्थ्यो। भनिन्छ, सिद्धनाथको तपस्यामा खलल पुग्छ भनेर त्यस स्थानमा महाकाली शान्त भएर बग्छ।

अंग्रेजहरूले दोधारा, चादनीको उतातर्फ जोगबुढा नदीसंग मिसिएर कुतियाकबर भएर बग्ने महाकाली नदीमा बाँध बाँधी बनवासामा पुल बनाए। बाँधको पानी दोधारा, चाँदनी र महाकाली नदीको बीचमा छाडने गरियो। त्यसपछि बेलौरी अपायक भएपछि महेन्द्रनगर बजारको स्थापना भयो र बजार बसाउन महत्वपूर्ण भूमिका खेल्ने पदाधिकारीले ब्रम्हदेवका केही शीला सिद्धनाथ मन्दिरको लागि जग्गा छुट्याई त्यहाँपनि स्थापना गरेको भन्ने बुझिन्छ।

त्यस ब्रम्हदेव नाकाको महत्व मानिसहरूका लागि कम भएपनि धार्मिक महत्व जस्ताको तस्तै छ। यो स्थान पहाडी भूभागतर्फ आवतजावत गर्ने देवी देवताहरूको प्रमुख मार्ग मानिन्छ। प्राचीनकालमा यसबाटोबाट देवीदेवताहरू मात्रै आवतजावत गर्दथे। पछि मानिसहरूले पैदल हिडन यही मार्गलाई पछ्याए।

अहिले पनि देवी चार महिना हिमाल र नौ महिना (चन्द्रमास) बसोवासका लागि ओहोरदोहोर गर्दा यही बाटो प्रयोग गर्दछिन। महाकाली पारीको भूभाग वुमलाई देवताहरूले कालापानी भन्थे। त्यहाँ रहेकी पूर्णागिरि देवी नेपाली भूभाग र उत्तराखण्ड तिर देवीहरूकी बहिनी मानिन्छिन। यस ठाउँमा देवी देवताहरू आवतजावत गर्दा घाट तराउने काम लखुवा दानवले गर्थे।

यो लखुवा अल्मोडामा नन्दादेवीका मुख्य सहयोगी गण मानिन्छ, जसले देवीको राक्षसहरूसंग भिड्दा वाहनको काम गरेको थियो। काठमाडां तिर लाखे भनेर नचाउने यही लखुवा हो जो राक्षस नभएर देवीको मुख्य सहयोगी वा वाहन हो। राक्षस भनेर डरलाग्दो रुप देखाइएको हो। पिथौरागढ तर्फ मनाइने हिल जात्रामा लाखे नचाएर त्यसबाट आशिर्वाद लिइन्छ।

यो मार्ग कैलाश मानसरोवर जाने प्रमुख दैवीमार्ग हो। हाल भारतले उतातर्फ मानसरोवर जाने मार्ग बनाएपनि देवी देवताहरू पम्परागत रुपमा आवतजावत गर्न यसैलाई प्रयोग गर्छन। पहाडी भूभागतर्फ लाँगो भनिने र भावरतर्फ समैची भनिने लंगर शाही यही बाटो भएर कैलाश र मानसरोवर तर्फ गएका थिए।

यो बाटो पम्परागत रुपमा हरिद्वार भएर आउछ। हरिद्वारको हरकी पैडीमा नुहाई धुवाई गरेर हल्द्वानी भित्री बाटो चोर गलिया भएर खटिमा निस्कन्छ। धार्मिक मानिसहरू तीर्थयात्राका लागि र पहाड तर्फ मन्दिरमा देवताको लागि जल ल्याउने मानिसहरू यही बाटो अहिले पनि पैदलै पार गर्छन।

खटिमामा लाँगोले खटिमा (खाजा) खाएकोले त्यसको नाम खटिमा रह्यो। बाटो हिडदा त्यहाँ उनले उखु पेलेर सक्खरबाट गुड बनाएर बाँडीचुडी खाएका थिए। त्यो परम्परागत बाटो टनकपुर हुँदै पूर्णागिरी भन्दा तल तिर हालको बुम भन्ने ठाउँमा आएपछि कालीघाट तरेर वारी ब्रम्हदेवमण्डी (खल्लागोठ अथवा मछेट) आइपुग्छ। मण्डीदेखि माथि आउँदा ढुंगामा परिणत भएको जंगली दन्त हात्ती हो र आफुलाई सताउन आउदा लाँगो देवताले ढुंगा बनाएको मान्यता छ।

बाटोमा उकालो चढेपछि चुरेको डाँडामा (पूर्णागिरीबाट महाकालीपारी) कौवानी भन्ने ठाउँमा आएर लखमा देवीथान रहेको छ। झिलमिला तालको के सम्बन्ध रहेको छ अध्ययन हुनु आवश्यक छ। यो बाटो हिड्ने देवता र मानिसले डाँडामा उक्लेर ढुंगो बोकेर ल्याई त्यहाँ चढाउथे। परम्परा अनुसार परापूर्व कालदेखि यात्रुहरूले चढाएका ढुंगाहरू त्यस ठाउँमा थुप्रिएका छन्। अगाडि छेल्या बगारामा छेलो (शर्त) को रुपमा एउटा ढुंगा उठाउने चलन रहेको छ। त्यसभन्दा अगाडि बाङघाटमा हरिद्वार जत्तिकै पवित्र परशुरामधाम रहेको छ। देवताहरू यस ठाउँमा नुहाएर पवित्र हुने र महायज्ञ गर्ने गर्दथे।

त्यहाँबाट पन्तुरीगाड तरेपछि जोगबूढा आउछ। जोगबुढाका सम्बन्धमा तत्कालिन समयमा माल पहाडको साँध सीमा हेर्ने गरी तीखेचुलीमा बस्ने भुमेश्वर देवताले हालको लालढुंगा भन्ने ठाउँमा गएर योगीको रुप धारण गरे। त्यस ठाउँका आफ्नो जिम्मेवारी सिद्ध बैजनाथलाई सुम्पी कैलाशतिर गएका थिए। रंगौनमा आफुलाई चन्दनले रंगाएका र जोगबुढामा जोग धारण भनिन्छ। सलाउनी चौरबाट अगाडि तेल्याको उकालोमा कल्यानामा समैची देउताको मन्दिर रहेको छ। माथि बढदै जाँदा गोगनपानी, घँगाराड (घँगारु धेरै भएको ठाउँ) हँदै निगालपानीमा निगालदेवीको मन्दिर रहेको छ।

बटुवाहरूको लागि उकालोमा रमसुल्लाको पानी भन्ने ठाउँमा लाँगोले आसपास पानी नदेखी फलामको लौरी धँसाएर (घुँडा धसाएको पनि भनिन्छ) पानी निकालेको मान्यता छ। तेल्याका नाङ्नामा आई खौलानेर ओरालोमा मूर्ति जस्तो ढुंगा ठड्याइएका छन्। आउँदाजाँदा यात्रुहरू थकाइ कम हुने विश्वासका साथ त्यसमा तेल घसेर आफ्नो खुट्टामा लगाउँछन्। एकै दिनमा पार गर्न कठिनाई हुने भएको र कहिलेकाही हिउँ पर्ने भएकाले मानिसहरूको लागि आउदाजाँदा तेल्या पहाड बास बस्ने धर्मशाला समेत रहेका थिए।

ओरालो झर्दै स्थानीय मानिसहरूका भैँसी राख्ने खर्कहरू भएको ठाउँ चिरकिट्टेको लेकमा आई पुगिन्छ। त्यहाँ जमिनको माटो निलै रहेको निलामाटीबाट अगाडि सतगाँठ हुदै गैरीडोटीमा घटाल देवताको थान आई पुगिन्छ। त्यहाँबाट अगाडि बाघखोर हाल डडेलधुराको बागबजार हुँदै अगाडि किरमडे हालको कीर्तिपुरमा पुगिन्छ। पोखरा नजिकको उग्रताराको थानबाट यस दैवी बाटोका तीन हाँगाहरू फाटेर जान्छन।

एक बाटो दक्षिण पूर्व भएर भूमेश्वर थान भएर डोटी सिलगढी शैलेश्वरीको बाटो भएर खप्तड र बाजुराको बढीमालिका, बुढीनन्दा भएर साईपालहुदै कैलाशतर्फ जान्छ। अर्को बाटो मष्टो मन्दिरको बाटो ढुंगाड भएर सेतीको किनार चैनपुर धुलीभएर कैलाश मानसरोवर पुग्छ। अर्को बझाङ बैतडीको सीमानाको डाँडा शिकासधुरा थान हुदै, श्रीभावर, बित्थड बाट भएर दार्चुला र बझाङको सिमाना धौलकाँडा, पनेरुकोट, पुरनचुली, थानज्यावन, मार्मा, लटिनाथ, क्षत्ती भएर डाडै डाँडा साईपाल र अपि नाम्पा भएर कैलाश पुग्ने बाटो रहेको मानिन्छ।

वैदिककालदेखि देवताहरू ओहोरदोहोर गर्दा हिँड्ने बाटो यसरी नै चल्तीमा रहेको र हाल पनि यही बाटो हिँड्ने विश्वास गरिन्छ। मान्छेहरू सवारी साधन नहुँदाका समयमा माल भावरतिर आवतजावत गर्दा समेत यही बाटो प्रयोग गर्थे। महाभारत यु–द्धमा विजयपछि पाण्डवहरूले यो बाटो ओहोरदोहोर गरेको र खप्तड आउँदा समेत चलनचल्तीमा थियो। यो बाटोमा अहिले पनि ऋषिमुनि र सिद्ध पुरुषहरू हिडदा रात बिरात भेटिने गरेको आसपासमा बसोबास गर्ने मानिसहरूको भनाई छ।

यस क्षेत्रतिर सांस्कृतिक चाड भुवो यसको आगमनको यही बाटोमा आउँदा हिडे जसरी भट्याउदै ल्याउछन्। हरिद्धारबाट हल्द्धानी आएकोमा भुवो भट्याइन्छः हल्द्धानी आयो । यसरी खटिमा, टनकपुर हुदै महाकाली तरेर ब्रम्हदेवको वारी मण्डी ल्याउँछन्। त्यहाँबाट भुवोको यात्रा जोगबुढा, कल्याना, गोगनपानी, तेल्याको लेक, डडेलधुरा पु¥याउँछन्। त्यहाँबाट डोटी अछाम र अन्य आसपासका क्षेत्रहरुमा भुवो छुट्टिएर जान्छ।

दार्चुलाबाट लटिनाथ देवता मामा बैजनाथको घर हालको कन्चनपुर आउदा दार्चुला बझाङको सीमाना भएर यही बाटो आएका थिए । फर्किदा भने उनी बैतडी भएर जैपुर, बन्तोली, गोकुले हुँदै तामाभेलीको मद्धतबाट चमेलीया नदी पार गरी छोला, बारिल बास बस्दै हालको तलाइमाँडु फिर्ता भएका थिए।

लाँगो देवता अहिले पनि बेला बेलामा काम बिशेषले मालतर्फ आउने गरेको भक्तहरूसंगको सम्वादमा सुनाउछन। उनको बस्ने स्थल मलासको डाँडा हो भनिन्छ। कुमाउतिर पूजा गरिने प्रख्यात समज्यू यस तर्फको नेपाली भूभागमा उत्पत्ती भएर घोडामा चढी ब्रम्हदेवमा महाकाली तरी चोरगलिया, हल्द्वानी हुदै त्यसतर्फ गएको कथा पाईन्छ। यो अति नै पवित्र ठाउँ सेयर गरौँ ।

सम्बन्धित खबरहरु