बागलुङ । बागलुङको ऐतिहासिक प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा एकसय ६५ मिटर तल रहेको पवित्र कालीगण्डकी नदीको पानी ल्याइएको छ । सौर्य ऊर्जा र विद्युत् दुबैबाट ट्याङ्कीमा रहेको मोटरमा ऊर्जा प्रवाह गरी ‘पम्प’ मार्फत् मन्दिरको अग्रभागमा निर्माण गरिएको नौ धारामा पानी खसालिएको हो ।

 

कालिका मन्दिर आउने दर्शालु भक्तजनहरुलाई लक्षित गरी नौवटा धारासहित स्नान गृह पनि निर्माण गरिएको हो । मुस्ताङको मुक्तिनाथ देखी धार्मिक महत्वको साथ बगिरहेको कालीगण्डकी नदी र कालिका भगवती मन्दिरको ऐतिहासिक सम्बन्धलाई नौ धाराले थप सदृढ पार्ने कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।

 

‘कालीगण्डकीको पानीले स्नान गर्ने चाहाने भक्तजनका लागि छुट्टै स्नानघर पनि निर्माण गरेका छौँ, त्यसबाहेक नौ धाराको दर्शनसहित पानीले शरीर स्नान गर्ने व्यवस्था मिलाइएको छ’ अध्यक्ष खड्काले भने ।

मन्दिरको प्रवेश गर्ने मुल गेट बाट अगाडि जाँदा बाटोको बाँया भागमा मन्दिरको उत्तर दिशामा निर्माण गरिएको नौ धारामा नौवटै देवीका स्वरुप झल्कने मूर्ति राखिएको छ । प्रत्येक देवीका मूर्ती मुनिबाट गाईको प्रतिमूर्ति रहेको धाराबाट पानी खसालिएको छ ।

 

मन्दिरमा प्रत्येक दिन बिहान कालीगण्डकीको जल चढाउनका लागि पुजारीले नदीमै स्नान गरेर जल ल्याउनुपर्ने चलन थियो । मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि मन्दिर व्यवस्थापन, पुजारी र भक्तजनलाई समेत सहज भएको खड्काले बताए ।

 

निरन्तर नौ धारामा कालीगण्डकीको पानी आउने हुँदा यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । मन्दिरमा निर्माणाधीन अवस्थामा रहेको ‘नमुना’ सौर्य ‘लिफ्ट’ खानेपानी आयोजना अन्तर्गत ती निर्माण समितिले जनाएको छ । सरकारको ८० प्रतिशत र कालिका गुठीको २० प्रतिशत गरी कुल रु दुई करोड ६० लाखको लागतमा सो आयोजना पुरा हुन लागेको हो । उक्त आयोजनाबाट मन्दिर क्षेत्रमा दैनिक २५ हजार लिटर पानी आपूर्ति हुनेछ ।

 

 

आगामी ५० वर्षलाई पुग्ने गरी आयोजनाको स्वरुप तयार गरिएको हो । मन्दिर परिसरमा हालसम्म ५० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भइसकेका छन् । यही आयोजनाबाट मन्दिर परिसर आसपासका क्षेत्रका पुरानो खानेपानी आयोजना मर्मत, विस्तार र स्तरोन्नति समेत गरिने भएको छ ।

 

थप ६ वटा नयाँ धारा निर्माणसँगै गुठीको वन क्षेत्रमा हुने आगलागी र डढेलो रोक्न दुई हजार २०० मिटर परसम्म पानीको पाइप बिछ्याइने जनाइएको छ ।

 

नौधारा बाहेकका अन्य पूर्वाधार निर्माणको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । बागलुङ कालिका मन्दिर अति नै धार्मिक महत्वको स्थान हो । यहाँ दर्शन गर्दा मात्रपनि सोचेको पुरा हुने विश्वास गरिन्छ ।

 

 

सम्बन्धित खबरहरु