काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन् । दुबै जनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा. सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. थापाले बताउनुभयो ।

यस्तै, झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको मृत्यु भएको हो ।

उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउनुभयो । उनको लाश स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो ।

परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिनुभयो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ ।

सम्बन्धित खबरहरु