काठमाडौ । पाल्पा, बगनासकाली गाउँपालिका-५ ठाँटी र रम्भा गाउँपालिका-३ जामुनेस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान पहिरो आई रुखसमेत ढलेर सडक अवरोध भएको छ । साथै रिब्दिकोट गाउँपालिका-४ भैरबस्थानस्थित तानसेन९रिडी पक्कि सडकखण्डमा समेत पहिरो आई सडक अवरोध भएको छ ।

प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-९ भैसेस्थित वर्षाको कारण पहिरो आई बिहीबार बिहानदेखि सडकमा अवरोध भएको छ । प्रहरी चौकी बलेफीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

 

पर्वत, कुश्मा नगरपालिका-२ सस्रधारास्थित पोखरा-बाग्लुङ सडकखण्डमा बिहीबार बिहानदेखि पहिरो आई सडक अवरोध भएको छ । साथै जलजला गाउँपालिका-८ र्फसेस्थित वेनि-मालढुङगा सडक समेत पहिरोमा आई अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नारायणगढ-मुग्लिन सडकमा बुधबार दिउँसो पहिरो जाँदा राजधानी काठमाडौं जाने-आउने गाडीहरु रोकिएका छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार इच्छाकामाना गाउँपालिका–६ चार किलोमा दिउँसो साढे ४ बजे पहिरो खसेको हो । जसका कारण दुईतर्फी नै गाडी चल्न सकेका छैनन् ।

चितवनको इच्छाकामाना गाउँपालिका–६ चार किलोमा खसेको पहिरो । निरन्तर वर्षा भइरहेकोले पहिरो हटाउन समय लाग्ने प्रहरीले बताएको छ । वर्षा केही दिन निरन्तर रहने भएकोले उक्त सडक खण्ड भएर सकेसम्म यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

नारायणगढ मुग्लिन सडकमा पहिरोको अत्याधिक जोखिम छ । वर्षा लागेपछि निरन्तर पहिरो गएर लामो समय बाटो बन्द हुने गरेको छ । यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो ।

भालुबाङ–प्यूठान सडक अवरुद्ध

लगातारको वर्षापछि आएको पहिरोका कारण भालुबाङ–प्यूठान सडक अवरुद्ध भएको छ । सरुमारानी गाउँपालिका–६ मोतीपुरमा सडक माथिबाट अएको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । मल्लका अनुसार भालुबाङ–प्यूठान सडक खण्डको ठाउँ–ठाउँमा पहिरो गएको छ ।

अन्य स्थानको पहिरो एस्काभेटर लगाएर हटाए पनि मोतीपुरमा ठूल्ठूला ढुंगासहित सडक माथिबाट ठूलो पहिरो आएकाले सडक खुलाउन समस्या भइरहेको छ । सडक खुलाउन सडक डिभिजन कार्यलय जसपुरसँग समन्वय गरेर एस्काभेटर पठाउने तयारी भएको मल्लले बताए । प्यूठान रोल्पा दुई जिल्ला प्रवेश गर्ने मुख्य सडक अवरुद्ध हुँदा दर्जनाैं सवारी साधन बिहीबार बिहानैदेखि गन्तव्यमा पुग्न सकेका छैनन् ।

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोले हिमाली जिल्ला जोडिएको बेंसीसहर–चामे सडक अवरुद्ध बनेको छ । सडकको लमजुङतर्फका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । बेंसीसहर नगरपालिका ६, खरखरे, मर्स्याङ्दी गाउँपालिका ४ घोप्टेभीरलगायत ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन हुन सकेको छैन । ती ठाउँमा मानिसहरु समेत हिँडेर आवतजावत गर्न नसकेको स्थानीयले बताएका छन् ।

डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका सब इन्जिनियर सुमन अधिकारीले मंगलबार साँझदेखि परेको वर्षाका कारण बेंसीसहर नजिकै बेलौती विसौनाको खरखरे भीरमा माथिबाट पहिरो खसेको बताए । मर्स्याङ्दी नदीबाट पनि पहिरोले च्याप्दै आएको उनले बताए । ‘पानी परिरहेकाले निरन्तर पहिरो झरिरहेको छ । तत्काल खुलाउन सम्भव भएन । बाटो खुलाउँदा माथिबाट पहिरो बगेर पुरिने खतरा छ,’ उनले भने ।

मर्स्याङ्दी गाउँपालिका ४ का अध्यक्ष सुमन गुरुङले घोप्टेखोलामा बेलिब्रिज राख्‍ने तयारी गर्दा माथिबाट पहिरो खसेको बताए । पहिरो खसेपछि काम रोकिएको छ । उक्त ठाउँमा पहिरो गएकाले सवारी आवागमन ठप्प छ । ‘निरन्तर पानी परिरहेपछि पहिरो खस्यो । काम गर्न सकिएको छैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले ठाउँठाउँमा ठूला र साना पहिरो गएको बताए । बाढीपहिरोले ठाउँठाउँमा सडक बगाउनुका साथै पहिरोले पुरिँदा सवारी आवागमन हुन सकेको छैन । उनका अनुसार दिनभरी पानी परिरहेकाले बुधबार पहिरो पन्छाउन सकिएको छैन । मानिसलाई पैदल हिँड्न पनि असहज भएको उनले बताए । तत्काल सडक मर्मत गर्दा पुन: पहिरो जाने जोखिम भएकाले पानी रोकिएपछि मात्र सडक सुचारु गरिने उनले बताए ।

सम्बन्धित खबरहरु