काठमाडौ । झापाकी देविका बुढाथोकीलाई नयाँ–नयाँ डिजाइनका झोला बनाउन असाध्यै मनपर्छ। उनी सानैदेखि आफूले बोक्ने झोला र हातेपर्स आफैं बनाउँथिन्।साथी र आफन्तले ‘आहा, कस्तो राम्रो, मलाई नि बनाइदेन’ भन्थे। यति पैसा लाग्छ भनेर बनाइदिन्थेँ,’ ३५ वर्षीया देविका सुनाउँछिन्।उनी पहिल्यैदेखि खेर गएका चिजबाट कसरी नयाँ उत्पादन गर्ने भनेर सोचिरहिन्थन्। कहिले पराल, कहिले पटेर, कहिले थाकल, कहिले मकैका खोस्टा त कहिले खेर गएका प्लास्टिकबाट झोला बनाउनु उनको दैनिकी थियो।

केटाकेटी बेलादेखि सिलाइबुनाइ जानेकी उनको झोला बनाउनु सीप मात्र थियो, अहिले व्यवसाय नै बनेको छ। पोहोरदेखि उनले मकैका खोस्टाका झोला चीन पठाउन थालेकी छन्। डेढ वर्षमा ४८ हजार वटा निर्यात भइसकेको उनी बताउँछिन्। अहिले भने चीनबाट वार्षिक दस लाख वटाको माग आएको छ।

मकैका खोस्टाको झोला ।

कसरी सुरू भयो त उनको यस्तो झोला व्यवसायरुयसको कथा उनको बालापनको संघर्षसँग जोडिन्छ। २०४१ सालमा इलामको नाम्सालिङमा जन्मेकी देविका परिवारकी जेठी सन्तान हुन्। उनका एक भाइ छन्। पछि उनीहरू सपरिवार झापा सरे। २०५० सालमा क्यान्सरका कारण आमाको मृत्यु भयो। आमाको मृत्युपछि बुवा पनि बेपत्ता भए। त्यो बेला पाँच वर्षीय भाइलाई फुपूको जिम्मा लगाएर उनी छिमेकीको घरमा बसिन्।

उनको पढाइ बीचमै छुट्यो।
‘म कक्षामा सधैं पहिलो हुन्थेँ। पढाइ राम्रो भएकाले कक्षा उक्लिएकी थिएँ। ९ वर्षकी हुँदा त ८ कक्षा पढ्थेँ,’ उनी भन्छिन्। अर्काका घर बसे पनि उनलाई कहिल्यै ‘काम गर्ने’ को दर्जामा नराखिएको उनी बताउँछिन्। ‘आफ्नै छोरीजत्तिकै माया गर्नुहुन्थ्यो उहाँहरूले,’ देविकाका निम्ति अहिले माइती त्यही घर हो। बेलाबेला आउजाउ गर्छिन्। ‘म बसेको घरका दुई छोरी थिए। एउटी छोरी पछि विदेश गइन्,’ उनी भन्छिन्, ‘मलाई पनि बाहिर जाऊ भन्नुहुन्थ्यो। तर मलाई यहीँ केही काम गर्छु भन्ने थियो।’

त्यो परिवारले एक दिन सोध्यो, ‘के काम गर्छ्यौ तरु’ त्यही बेला उनले भनेकी थिइन्, ‘सिलाइकटाइ गर्छु।’ उनका अनुसार त्यो समय सिलाइको काम खुब चलेको थियो। महिलाहरूलाई आम्दानीको बाटो भएकाले प्रायः घरका छोरी सिलाइ सिक्थे। २०५४ सालमा वडा कार्यालयले नै सिलाइ सिकाउने कार्यक्रम ल्यायो, निःशुल्क भने थिएन। छ महिने उक्त तालिम एक-एक महिनामा बाँडिएको थियो। एउटा महिनाको कक्षा १५ दिनसम्म चल्थ्यो, जसका लागि ८० रूपैयाँ तिर्नुपर्थ्यो।

देविकाको रहरले पखेटा पायो। मैले एकदमै चाँडो सिकेँ। एउटा महिनाको काम सिक्न मलाई दुई(तीन दिन मात्र लाग्यो,’ उनी भन्छिन्, ‘पूरा ६ महिने कोर्स मैले २६ दिनमै सकेँ।’ चाँडै काम सिकेको देखेर प्रभावित भएका तालिम शिक्षकले देविकालाई आफ्नो सिलाइ मेसिन दिए रे। शुल्क पनि नलिएको उनी बताउँछिन्। तालिमपछि देविकाको आम्दानीको स्रोत बन्यो सिलाइकटाइ। एक महिनापछि नै उनले जागिर पनि पाइन्। उनका अनुसार त्यही बेला उनले महिनाको १२ हजार रूपैयाँ पाउँथिन्।

बिहान–बेलुकी अरू काम पनि गर्थिन्। राति एक(दुई घन्टा मात्र सुतेर काम गर्दा आम्दानी राम्रो हुँदै गयो। आफैं कमाउन थालेपछि उनले भाइलाई सँगै राखेर पढाउन थालिन्। पछि जग्गा किनबेचको काम पनि गरिन्। सानैदेखि काममा सक्रिय देविकाको बिहे पनि चाँडै भयो, १६ वर्ष टेक्दा(नटेक्दै। उनी बिहे चाँडो गर्नुको कारण खुलाउँछिन्, ‘२०५६ सालमा भर्खर १६ लागेकी थिएँ। आमाबुवा नभएकी छोरीलाई जोगिएर हिँड्नै गाह्रो भएपछि कलिलैमा बिहे गर्ने निर्णय गरेँ। अहिले सम्झिँदा त्यति ठूलो निर्णय त्यति सानो उमेरमा कसरी गर्न सकेँ जस्तो लाग्छ।’

शनिश्चरेका बुढाथोकी थरका उनका श्रीमान ठेक्कापट्टाको काम गर्थे। ‘त्यतिखेर झापामा हाम्रो परिवारको ठूलै नाम थियो,’ उनले श्रीमानको घरबारे बताइन्, ‘ठूला घरकी बुहारी, टेलर चलाउन गाह्रै भयो।’तै उनलाई श्रीमानको साथ रह्यो। २०५७ सालमा शनिश्चरे बजारमा एउटा मेसिन राखेर सिलाइ पसल खोलिन्। टेलर राम्रो चल्थ्यो। ‘जस्तो भन्यो त्यस्तै सिलाइ दिने भएकाले भिड हुन्थ्यो,’ उनी भन्छिन्, ‘कोटबाहेक म सबै सिलाउँथेँ। बच्चाको कोट त बनाउँथेँ, ठूलाको भने त्यति माग नहुने भएकाले चासो पनि दिइनँ।’ देविकाले सिलाइ सिकाउन पनि थालिन्। तीन महिने कक्षा दिन्थिन्। एक जनाले १२ हजार तिर्नुपर्थ्यो। सेतोपाटी

सम्बन्धित खबरहरु