काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ मा पूर्ण बदलीसहित धेरै ठाउँमा वर्षा भइरहेको छ ।

ठाउँठाउँमा सामान्यदेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षासमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । “काठमाडौँमा केही खुलेको देखिन्छ, तर पूर्ण मौसम सफा भने भएको छैन”, कँडेलले भन्नुभयो, “रातिसम्म बदलीको अवस्था छ, आजदेखि नै मौसममा केही सुधार देखिएको र शनिबारदेखि भने विस्तारै मौसममा थप सुधार हुँदै जान्छ ।”

उहाँका अनुसार मौसम सुधार भए पनि छिटफुट बदली र केही स्थानमा वर्षा भने कायमै रहने छ र शनिबारपछि भने लगातारको झरी नहुने कँडेलले बताउनुभयो ।

यसअघि तीन दिन मुलुकको अधिकांश क्षेत्रमा मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षा भएको थियो । मुख्यगरी प्रदेश १ देखि ५ सम्म बढी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । यसपालि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ ।

हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ । साथै यो न्यून चापीय क्षेत्र उत्तरपूर्व सर्दैछ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी र पहिरो जाँदा पछिल्लो तीन दिनमा १५ जनाभन्दा बढीको ज्यान गएको छ भने केही बेपत्ता भएका छन् ।

उनीहरुको खोजी जारी रहेको जनाइएको छ । यो वर्ष मुलुकका विभिन्न क्षेत्रमा विपद्मा परेर ३९१ जनाको ज्यान गएको छ भने ११० जना अझै बेपत्ता छन् । सबैभन्दा बढी पहिरोले मात्रै २८७ जनाको ज्यान लिएको छ ।

सम्बन्धित खबरहरु