माघ ८ मै संविधानको मस्यौदा भने पनि आउनुपर्ने र सहमति नभए प्रक्रिया शुरु गर्न माग गर्दै संविधानसभाका दुई तिहाइ सभासदहरुले सभाध्यक्ष सुवास नेम्वाङलाई हस्ताक्षर बुझाएका छन् ।
कांग्रेस एमाले लगायतका १० राजनीतिक दलका ४ सय १३ सभासदको हस्ताक्षर राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद चित्रवहादुर केसीले शुक्रबार सभाध्यक्ष नेम्वाङलाई बुझाएका हुन् ।
माघ ८ मै संविधान आउनुपर्ने माग गर्दै हस्ताक्षर गर्नेमा १० दलका ४ सय २१ मध्ये ४१३ सभासद छन् । कांग्रेसका सुशील कोइराला, शेरवहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला अमरेशकुमार सिंह लगायत केहीले हस्ताक्षर गरेका छैनन् ।
त्यस्तै एमाले अध्यक्ष केपी ओलीलाई हस्ताक्षर नगराइएको एमाले सभासद प्रकाश ज्वालाले बताए ।
राप्रपा नेपालले अन्तिम घडीमा हस्ताक्षर नगर्ने बतायो भने संविधान माघ ८ मै आउनुपर्ने अडानमा रहेको नेपाल मजदूर किसान पार्टीका सभासदले पनि हस्ताक्षर गरेका छैनन् ।
हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसका २०१, नेकपा एमालेका १८२, राप्रपाका १३, नेकपा मालेका ३, राष्ट्रिय जनमोर्चाका ३, नेकपा संयुक्तका ३, परिवार दलका २, अखण्ड नेपाल १, जनजागरण पार्टी १, नेपाली जनता दल १, बहुजन शक्ति पार्टी १, स्वतन्त्र २ सभासद छन् ।
संविधान जारी गर्नका लागि आवश्यक पर्ने दुई तिहाइ सभासदको संख्या ४०१ भए पुग्छ । दश दल र दुई स्वतन्त्र सहित ४ सय २१ सभासद कांग्रेस एमालेको प्रस्तावको पक्षमा छन् ।
राप्रपा नेपालका २५ र नेमकिपा ३ सभासद तटस्थ अवस्थामा छन् । एमाओवादी नेतृत्वको मोर्चासँग करीव १ सय ५० सभासद छन् । मधेसी मोर्चाका २ सभासद मनोनयन हुन बाँकी छ ।
कांग्रेसका एक सभासदको मृत्यु भएको, राप्रपा नेपालकी सभासद कान्ता भट्टराई, एमाओवादी तथा सद्भावनाका दुई सभासद निलम्बन भएको अवस्थामा संविधानसभामा कुल सभासदको संख्या ५९५ छ ।
पहिलो संविधानसभामा पनि एमाओवादीलगायत पहिचान पक्षधर सभासदले दुई तिहाइको हस्ताक्षर संकलन गरेका थिए । तर, सभाध्यक्ष नेम्वाङले सहमतिविना अघि बढ्न नसकिने भन्दै संविधानसभाको बैठक बोलाउने एमाओवादीको मागलाई अटेर गरेका थिए ।
यसैबीच शुक्रवार १० बजे बस्ने भनिएको संविधानसभा बैठक दलहरुबीच विवादका कारण बस्न सकेको छैन ।
संविधानका विवादित बिषयलाई आजकै बैठकबाट प्रक्रियामा लगेर टुंगो लगाउने सत्ता पक्षीय कांग्रेस-एमाले लगायत दलको तयारी छ । यद्यपी विपक्षी एनेकपा माओवादी, मधेसी मोर्चालगायत दलले त्यसको प्रतिवाद गर्ने बताएका छन् ।
गत मंगलबारको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा समितिका जेष्ठ सदस्य सूर्यबहादुर थापाले सहमति र असहमतिका विषय समेटिएको प्रतिवेदन पेश गरेका थिए ।
समिति सभापति तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई आफ्नै पार्टीले आह्वान गरेको उपत्यका बन्दका कारण संविधानसभा बैठकमा सहभागी नभएपछि थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मंगलबारको बैठकमा विपक्षी एमाओवादी, मधेसवादी दल लगायत विपक्षी मोर्चाका कुनै पनि सभासद सहभागी भएका थिएनन् ।