धनगढी । जैविक विविधताले महत्वपूर्ण कैलालीमा ठूलो सङ्ख्यामा पानी गौथली चरा फेला परेका छन् । कैलारी गाउँपालिका–४ स्थित मोहना नदीको बगरमा १० हजार ५५३ सङ्ख्यामा पानी गौथली फेला परेका हुन । नेपालमा संरक्षित क्षेत्रबाहिर धेरै सङ्ख्यामा पानी गौथली फेला परेको यो पहिलोपटक हो । संरक्षित क्षेत्रमा पनि यति धेरै सङ्ख्यामा पानी गौथली फेलापरेको अभिलेख छैन ।

मोहना नदीमा देखिएको पानी गौथलीको समूह नेपालमा हालसम्म अभिलेख गरिएकोमध्ये सबैभन्दा ठूलो रहेको चराविज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । ‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौथली भेटिएका थिएनन्’, उहाँले भन्नुभयो । पानी गौथली विश्वव्यापी रुपमा रातो सूचीमा रहेको चरा हुन । यो प्रजाति सङ्कटको नजिक रहेको बताइएको छ । नेपालसहित विश्वको २० देशमा पानी गौथली पाइन्छन् ।

नेपालमा पहिलोपटक काठमाण्डौं उपत्यकामा पानी गौथली अभिलेख गरिएको थियो । १९ औं शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाण्डौंमा पानी गौथली अभिलेख गर्नुभएको हो । सन १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यि चरा देखिएका थिए । त्यसपछि सन २०१२ मा चितवनमै तीन हजार ४६७ देखिएको चराको क्षेत्रमा काम गर्ने संस्था पक्षी संरक्षण सङ्घ बीसीएन को तथ्याङ्कमा उल्लेख छ । यसैगरी, सन २०१५ मा कोशी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा र बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौथली चरा अभिलेख गरिएको थियो ।

सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदी पाइन्छ । यसैगरी, नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदी, कोशी नदी, दाङको राप्ती, कैलालीको मोहना नदीमा उल्लेख्य रुपमा पाइने गरेको जनाइएको छ ।

मोहना नदीमा गर्मी याममा बढी र जाडो याममा कम मात्रामा पानी गौथली देखिने गरेको चराविज्ञ डङ्गौराको भनाइ छ । उहाँले मोहना नदीको भितरिया क्षेत्रमा यो चराको सिकार बढी मात्रामा हुने गरेको बुझिएको उल्लेख गर्नुभयो ।

बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानी गौथली चरालाई समस्या हुँदै आएको जनाइएको छ । यसैगरी, चोरी सिकार, ब्रिडिङमा असर लगायतको कारणले यो चरा प्रजाति लोप हुने खतराको नजिक पुगिरहेको बताइन्छ । पानी गौथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयाहरुमा पाइन्छन् ।

मोहना नदीमा १० हजारको सङ्ख्यामा पानी गौथली फेला पर्नु आफूहरुको लागि पनि ‘सर्पराइज’ भएको बीसीएनका विज्ञ कृष्ण भुसालले बताउनुभयो । ‘नेपालमा पानी गौथलीको सङ्ख्या नै न्यूनतम् तीन हजारदेखि अधिकतम् पाँच हजारसम्म रहेको छ’, उहाँले भन्नुभयो । ‘१० हजारको सङ्ख्यामा मोहना नदीमा देखिनु एकदम् म्याक्सिमम र हाम्रो लागि बिग सर्पराइज हो ।’ सो झुण्ड अन्य मुलुकबाट आएको हुन सक्ने भुसालको बुझाइ रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

सम्बन्धित खबरहरु