वासिङ्टन, (रासस–एपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नु भएको छ । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको छ ।

 

स्वर्गीय न्यायाधीश एन्टोनीन स्कालियाकी पूर्व सहयोगीका रुपमा समेत कार्य गर्नु भएकी ब्यारेटले आफू सर्वोच्च अदालतको न्यायाधीशका रुपमा मनोनयनमा परेकामा अति खुशी भएको बताउँदै आफू स्कालियाको न्यायिक दर्शनबाट प्रभावित समेत रहेको बताउनुभयो ।

 

 

४८ वर्षीया ब्यारेट ह्वाइट हाउसको रोज गार्डेनमा आफ्ना पति र सात बालबच्चासहित उपस्थित हुनुहुन्थ्यो । अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्तीलाई सदर गरेमा हालै निधन हुनुभएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा नियुक्त हुनुहुनेछ ।

 

रिपब्लीकन राष्ट्रपतिहरुले नियुक्त गरेकी उहाँ छैटौं न्यायाधीश हुनुहुनेछ भने राष्ट्रपति ट्रम्प एक्लैले तेस्रो नियुक्ती गर्नु हुनेछ । अमेरिकी सर्वोच्च अदालतमा नौ जना न्यायाधीश हुने व्यवस्था छ ।

 

राष्ट्रपति ट्रम्पले ब्यारेट उच्चतम बौद्धिक र आचरण रहेको भन्दै प्रशंसा गर्नु भएको थियो । आफूले न्यायाधीशका लागि चयन गर्नुअघि ब्यारेटको व्यक्तिगत रेकर्ड राम्रोसँग हेरेको बताउनुभयो ।

 

रिपब्लीकन पार्टीका सिनेटरहरुले आगामी नोभेम्बर ३ अघि नै सुनुवाई प्रक्रिया पूरा गर्न आतुर रहेको बताइरहेका छन् । ब्यारेटको मनोनयन पूरा हुन सके सर्वोच्च अदालतको बहुमत दक्षिणपन्थी धारमा जाने भन्दै चौतर्फी विरोध र आशंका व्यक्त गरिएको छ ।

 

राष्ट्रपति ट्रम्पले भने ब्यारेटको मनोनयनलाई सिनेटले अनुमोदन गरे आफूलाई राष्ट्रपति निर्वाचित गर्न ठूलो मद्दत पुग्ने विश्वासमा हुनुहुन्छ । सन् २०१६ मा रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गर्नु भएका न्यायाधीश मरिक गार्लान्डलाई चुनावी वर्ष भन्दै अनुमोदन गर्न अस्वीकार गरेको थियो । तर यसपटक रिपब्लीकनको त्यही अडान फेरिएको छ । अर्थात् ४२ दिनभन्दा छोटो अवधिमा न्यायाधीश नियुक्तीलाई सदर गर्न सिनेटमा तयारी हुँदैछ ।

 

सिनेटमा बहुमत पार्टीका नेता मिच म्याककोनेलले सिनेटले आगामी सातामा ब्यारेटको नियुक्तीलाई सदर गर्ने दृढता व्यक्त गर्नु भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्प र रिपब्लीकन पार्टीले बेइमानी गरेको आरोप लगाउनु भएको छ ।

सम्बन्धित खबरहरु