बारा । महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ दुधौरा खोला नजिक ठक्कर दिँदा सो घटना भएको हो ।

 

 

घटनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृत्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताउनुभयो ।

 

मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नं।–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

ठक्कर दिने बसका चालक फरार रहेका छन् भने दुर्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताउनुभयो ।

 

दुबै सवारी तीब्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओभरटेक गर्ने क्रममा सो दुर्घटना हुन गएको खुलेकोमा यसबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोईरालाले जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

 

 

सम्बन्धित खबरहरु