काठमाडौं । क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् ।

जेलर अनिल तिवारीले भन्नुुभयो, “क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको छ ।” कोरोनाले देशका विभिन्न कारागारमा रहेका कैदीको मृत्यु तथा सङ्क्रमण पुष्टि भइरहेको समाचार बाहिर आइरहेका बेला बैतडीमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम बढेको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको जेलर तिवारीको भनाइ छ ।

कारागारमा शङ्कास्पद १० कैदी र सबै थुनुवाको तथा १० जना कारागारका कर्मचारी एवं सुरक्षाकर्मीको पिसीआर परीक्षण गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

गत जेठ ९ गते बैतडीका पहिलो कोरोना सङ्क्रमित भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति थिए । हत्या आरोपमा पक्राउ परेका ती युवक १३ दिनमै कोरोना जितेर हाल कारागारमै रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सङ्क्रमणको जोखिम हुनाका साथै खानेपानी र अन्य व्यवस्थापनमा पनि चुनौती रहेको जनाएको छ । खानेपानी आपूर्ति गर्न, शौचालय र बस्नका लागि पनि ठाउँ साँघुरो रहेको जेलर तिवारीले बताउनुभयो ।

उहाँले भन्नुुभयो, “कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर सावधानी अपनाए पनि नयाँ आएका थुनुवा र कैदी राख्न छुट्टै क्वारेन्टिन तथा आइसोलेसन नहुँदा जोखिम बढेको छ ।”

कारागार व्यवस्थान विभागले देशका अन्य कारागारमा आइसोलेसन र क्वारेन्टिन बनाएको भए पनि बैतडीमा पनि आवश्यक रहे पनि निर्माण गर्न नसकिएको हो । “क्वारेन्टिन तथा आइसोलेसन बनाउन हामीसँग आवश्यक बजेट नहुँदा बनाउन सकिएको छैन”, जेलर तिवारीले भन्नुुभयो ।

कारागार कार्यालयले कोरोना महामारीले गर्दा कैदीबन्दीलाई हाल आफन्तलाई समेत भेट्न दिइएको छैन भने सङ्क्रमणको जोखिम हुने भन्दै अदालत लैजान पनि बन्द गरिएको छ । बैतडीमा २०४० सालमा बनेको कारागार कार्यालय पनि जीर्ण बन्दै गएको छ । वर्षां भइसक्दासमेत जीर्णोद्धार नहुँदा समस्या भएको छ । रासस

सम्बन्धित खबरहरु