जेनेभा,  (रासस–एपी) : संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ ।

 

 

अबैध रुपमा यो रकम बाहिरनबाट रोक्न सकेको भए अफ्रिकी मुलुकहरुमा स्वास्थ्यसेवा, शिक्षा र पूर्वाधार निर्माणमा अभूतपूर्व प्रगति हुने राष्ट्रसंघको अध्ययनले देखाएको छ ।

 

 

 

सोमबार जेनेभामा आयोजित व्यापार र विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (अन्कटाड) का अवसरमा प्रकाशित प्रतिवेदनमा अफ्रिकाबाट भएको गैरकानुनी र अबैध वित्तीय प्रवाहलाई विशेष रुपमा जोड दिइएको छ । प्रतिवेदनले अफ्रिकाबाट पैसाका साथै सम्पत्ति पनि बाहिरिएको उल्लेख छ । अफ्रिकामा चोरी, भ्रष्टाचार र सिपिङको बिल गलत राख्नेजस्ता अनेक समस्या छन् ।

 

 

सन् २०१३ देखि २०१५ को बीचमा औसतमा प्रतिवर्ष झण्डै ८९ अर्ब डलरका दरले अफ्रिकाबाट थप रकम बाहिरिएको देखिएको छ । तुलनात्मक रुपमा हेर्दा, अफ्रिकाले विदेशी दातृ निकायबाट वार्षिक करिब १०२ अर्ब डलर प्राप्त गरेको देखिन्छ ।

 

 

अन्कटाडका महासचिव मुखिसा किटुयीले भन्नुभयो, “गैरकानुनी वित्तीय प्रवाहले अफ्रिका र यसका जनताको आकाँक्षामाथि नै खेलवाड गरेको छ । पारदर्शिता र जवाफदेहीतालाई नजरअन्दाज गरिएको छ भने अफ्रिकी संस्थामाथिको भरोशामा तुषारापात भएको छ ।”

 

 

अन्कटाडले सन् २००० देखि २०१५ को बीचमा अफ्रिकाबाट अबैध रुपमा करिब ८३६ अर्ब डलर बाहिरिएको जनाएको छ ।

 

अन्कटाडका अनुसार सन् २०१५ मा मात्र ४० अर्ब डलर बराबरको रकम बाहिरिएको छ, र यो रकम विशेषगरी बहुमूल्य धातु सुनको बिक्रीबाट प्राप्त भएको भएको हो । अबैध रुपमा रकम बाहिरिएका मुलुकहरुमा मुख्य रुपमा दक्षिण अफ्रिका, नाइजेरिया र इजिप्ट रहेका छन् ।

 

 

अबैध रुपमा रकम विदेशिनबाट रोक्न सकिए त्यसबाट अफ्रिकामा सडक, रेलवे, विद्यालय र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रशस्त लगानी गर्न सकिने पनि अन्कटाडको ठम्याई छ ।

 

 

अन्तर्राष्ट्रिय कर प्रणालीमा सुधार गर्न सके मात्र अफ्रिकाबाट अबैध रुपमा रकम विदेशिनेक्रम रोकिने पनि अन्कटाडले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु