(रासस/एएनआई) : कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमिर अल सबाहको निधनबाट आफूलाई निकै दुःख लागेको भन्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

 

 

उहाँले कुवेतका अमिरको निधनले आफूलाई र मेलानियालाई निकै दुःख लागेको छ भन्दै कुवेतका नागरिकहरुलाई समवेदन सन्देश पठाउनुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा बताइएको छ । कुवेतका अमिरको ९१ वर्षको उमेरमा मंगलबार अमेरिकामा निधन भएको थियो ।

 

 

उहाँले अमेरिकाको एक अस्पतालमा उपचार गराइरहनुभएको थियो । उपचाररत सोही अस्पतालमा उहाँको निधन भएको बताइएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि कुवेतका अमिर अल सबाहको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

 

 

राष्ट्रपति सिले उहाँको निधनबाट आफूलाई दुःख लागेको बताउनुभएको चीनको राजधानी बेइजिङबाट चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । कुवेतका सरकारी सञ्चारमाध्यमले यहाँका अमिर अल सबाहको निधन भएको समाचार बुधबार मात्र सार्वजनिक गरेका बताइएको छ । उहाँ ९१ वर्षका हुनुहुन्थ्यो ।

 

 

उहाँको निधनपछि उहाँका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल अहमदलाई कुवेतको मन्त्रिपरिषदले उहाँका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ ।गएको जुलाई महिनामा अमिर शेख सबाह उपचारका लागि अमेरिका जानुभएको थियो । त्यसपछि पनि लामो समयसम्म उहाँको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन ।

 

 

अमिर अल सबाह कुवेतमा सन् २००६ देखि सत्तामा रहनुभएको थियो । उहाँले करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिलासम्बन्धी क्षेत्रमा रहेर काम गर्नुभएको समाचारमा जनाइएको छ ।

 

 

सम्बन्धित खबरहरु