काठमाडौं । जर्मन सुपर कपको उपाधि जर्मन महारथी क्लब बार्यन म्युनिखले जितेको छ । गएराति सम्पन्‍न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमुन्डलाई हराउँदै बायर्नले उपाधि जितेको हो ।

एलियन्ज एरेनामा भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले डर्टमुन्डमाथि ३ २ को जीत हात पार्‍यो । बायर्नको जीतमा कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले गोल गरे । डर्टमुन्डका तर्फबाट जुलियन ब्रान्ड र एर्लिङ हालान्डले गोल गरे ।

बायर्नले घरेलु मैदानमा खेलको १८औं मिनेटमा टोलिसोको गोलबाट अग्रता लिएको थियो । ३२औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

३९औं मिनेटमा डर्टमुन्डका जुलियन ब्रान्डले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफ २ १ मा सकिएको थियो ।

५५औं मिनेटमा हालान्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो । ८२औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल भएनन् र बायर्नले जीत हासिल गर्दै उपाधि हात पार्‍यो ।

बायर्नको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।

सम्बन्धित खबरहरु