पाल्पा । तानसेनको भगवतीस्थानमा अवस्थित ऐतिहासिक रणउज्जेश्वरी भगवती मन्दिर क्षेत्र एक आकर्षक केन्द्र हो । नेपाल–अङ्ग्रेज लडाईपछि कर्णेल उजिरसिंह थापाले तीनतले मन्दिर स्थापना गरेका थिए । तस्वीर , कृष्ण दर्नाल (रासस

त्यो तानसेन
तानसेनको नाउँ सुन्नेबित्तिकै बादलमाथिको सुन्दर नगरी मानसपटलमा बस्छ। माडी फाँटलाई फाँकोले ढकमक्क ढाक्दाको दृश्यले तानसेन बादलमाथि तैरिइरहेको सुन्दर नगरजस्तो देखिन्छ। उत्तरतिर लमतन्न परेको हिमशृंखला, सूर्योदय र सूर्यास्तपख देखिने मनोरम प्राकृतिक छटालार्ई आँखामा थुनिराखूँझैं गराउँछ। तानसेन प्राकृतिक एवं मनोरम छटाले जति सुन्दर छ, मानवनिर्मित प्रकृतिले पनि यो धनी छ। सेन, शाह र राणाहरूले तानसेनलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्रशासनिक एवं व्यापारिक केन्द्रका रूपमा सिँगारेका थिए।

पहिले ‘मगरात’को भूभागभित्र समेटिएको तानसेनको नामकरणको सन्दर्भ मगर भाषासँग गाँसिएको छ। मगर भाषामा सल्लाको एक प्रजातिलाई ‘टानसिङ’ भनिन्छ। ‘टानसिङ’ सल्ला प्रजातिको काठलाई कपडा बुन्ने तान बनाउन प्रयोग गरिन्थ्यो। यहाँका रैथाने मगरहरूले पहिलेदेखि नै आफैंले बुनेका कपडा लगाउँथे, जसलाई ‘घरबुना’ कपडा भन्ने गरिन्थ्यो। तान बनाउन प्रयोगमा आउने यस प्रजातिको सल्ला प्रशस्त पाइने हुनाले यस ठाउँको नाउँ ‘टानसिङ’ रहेको हो। मगर भाषाबाट ‘टानसिङ’ भनी नामकरण भएको यस ठाउँको नाउँ समयको अन्तरालसँगै ‘टानसिङ’बाट ‘तानसिङ’ हुँदै ‘तानसेन’ रहन गएको हो।

तानसेन नगरपालिका–७ प्रभासस्थित शिवालयमा प्राप्त शाके संवत् १४१४(+१३५ वि.सं.१५४९) मिति उल्लेख भएको शिलालेखमा राजा रुद्रसेनको नामसहित ‘उभय शिवाय मनुमिन्द्र गते कि १४१४ शाक उदैई सू त्रा दा धर्मै ण रु द्री विर सेन राजा ये’ भनी उत्कीर्ण हुनुले सेनवंशीय राजा रुद्रसेन (विसं १५५०–१५७५) पाल्पाका राजा भएको देखिन्छ। पाल्पा राज्यलाई सुव्यवस्थित बनाउन रुद्रसेनले यो ठाउँमा रहेको घना जंगललाई फडानी गरी ‘तानसेन’को बस्ती बसाएका थिए।

तर, यससम्बन्धी लिखत अहिले उपलब्ध छैनन्। ‘तानसेन’ भनी उल्लेख भएको लिखत उनका सन्तान मुकुन्दसेन द्वितीयको विसं १८१८ को स्याहामोहरमा ‘तानसिंघ’ भन्ने उल्लेख छ। मगरभाषामा ‘घ’ वा ‘घा’ले ‘बस्ती’ भन्ने जनाउँछ। ‘तानसिंघ’ याने ‘तानसेन नामको बस्ती’ भन्ने बोध हुन्छ। यस स्याहामोहरले मुकुन्दसेन द्वितीयको पालाभन्दा पहिलेदेखि नै यो ठाउँ तानसेन भनेर परिचित भएको देखिन्छ।

रुद्रसेनले ‘तानसेन’ बस्ती र प्रभासमा शिवालय बनाउनुका साथै तानसेनको मध्य भागमा प्रस्तरको महिषासुर मर्दिनी भगवतीको सोह्रबाहु भएको मूर्ति स्थापना गरी ‘दुर्गा पञ्चायन’ मन्दिर निर्माण गरेका थिए। त्यति बेलादेखि नै राज्य सञ्चालन गर्ने थलो एवं धार्मिक, सांस्कृतिक एवं व्यापारिक केन्द्र समेटिएको बस्ती भएको देखिन्छ। रुद्रसेनपछि उनका छोरा मकुन्दसेन प्रथम राजा भए।

उनले पाल–सेन शैलीका मूर्ति निर्माण गर्नुका साथै शिखर शैलीका हृषिकेश मन्दिर, मुकुन्देश्वर शिवालय एवं माउन्टेन टेम्पल प्यालेस शैलीमा पाल्पा भैरव मन्दिर निर्माण गरेका थिए। पाल–सेन शैलीका मूर्तिहरूमा हृषिकेश भगवान्को मूर्ति, प्रभासको वंशगोपाल र हरिहरका मूर्ति छन्। साथै उनले प्रभासमा शिवालय बनाई नुहाउने पोखरी, सूर्यकुण्ड निर्माण गरी उक्त पोखरीमा गुजरातको कठियावादमा अवस्थित सोमनाथको मन्दिर (‘प्रभास क्षेत्र’का रूपमा चर्चित)बाट पवित्र जल ल्याई सो जललाई यस कुण्डमा मिसाई यस क्षेत्रलाई पनि पावन ‘प्रभास क्षेत्र’ नामकरण गरेका थिए।

मुकुन्दसेन प्रथमका सन्तान मुकुन्दसेन द्वितीयका छोरा महादत्तसेनले गोर्खालीहरूको राज्य विस्तार अभियानमा सघाएबापत अर्घा, खाँची र गुल्मी राज्यहरू उपहार पाएका थिए। आफ्नो राज्यको सीमा फैलिएपछि राज्यव्यवस्था सुव्यवस्थित बनाउन महादत्तसेनले ‘ श्रीनगर सहर’ बसाई श्रीनगरलाई पाल्पा राज्यको नयाँ राजधानी बनाएका थिए। उक्त ‘ श्रीनगर सहर’ बसाल्दा तानसेनको टुनिखेल मुनि अमरगन्जको बगलमा वटुक भैरवको मूर्ति स्थापना गरी सुन्दर मन्दिर निर्माण गरेका थिए।

सो वटुक भैरवनजिकै रहेको विसं १८४४ मिति अंकित शिलालेखमा ‘ श्रीनगर सहर’ बसाएको उल्लेख छ। साथै शिलालेखमा २६ हजार पंच उल्लिखित हुनुले त्यस बखतको ‘ श्रीनगर सहर’को वैभवलाई अनुमान गर्न गाह्रो पर्दैन। महादत्त सेनले सहरको मध्य भागमा स्वामी नारायणको मन्दिर निर्माण गर्नुका साथै मन्दिर नजिक पोखरी एवं उपवन पनि निर्माण गरेका थिए। महादत्त सेनको पालामै तानसेनले बृहत् सहरको आकार लिइसकेको देखिन्छ।

सेनवंशीय अन्तिम राजा पृथ्वीपाल सेनले मैथली, थारूलगायत संस्कृत भाषाको संरक्षण र संवद्र्धन गर्नुका साथै संस्कृत भाषाको संवद्र्धन र विकासका लागि संस्कृत पाठशालाहरूको स्थापना गरेका थिए। यसरी सेनवंशीय राजाले तानसेनको स्थापना गर्नुका साथै यहाँ मठमन्दिर निर्माण, व्यापार व्यवसाय प्रवद्र्धन, धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै तानसेनलाई सहरका रूपमा स्थापित गरेको देखिन्छ।

पाल्पा राज्य नेपाल अधिराज्यमा विलय भएपछि पाल्पामा तैनाथवाला भएर आएका साना काजी अमरसिंह थापाले विभिन्न मठमन्दिर बनाएका थिए। साथै उनले प्रशासनिक अड्डाका रूपमा अमरगन्ज निर्माण गरे। काठमाडौंबाट आफूसँग लिएर आएका कालीगढलगायत सैनिक व्यवस्था चुस्त बनाउन सैनिक संख्यामा वृद्धि गरिँदा तानसेनको चहलपहल बढेको हो। अमरसिंह थापाको देहान्त भएपछि पाल्पाको तैनाथवाला भई आएका कर्णेल उजिरसिंह थापाको समयमा तानसेन एउटा मजबुत सैनिक केन्द्रका रूपमा विकास हुनुका साथै पश्चिम नेपालको मुख्य गौंडाका रूपमा विकास भएको थियो।

कम्पनी सरकारसँगको लडाईँ र त्यस लडाईँमा नेपालले विजय प्राप्त गरेपश्चात् सुगौली सन्धि भएको थियो। सन्धिपछि इसं १८१९ देखि तानसेन नयाँ राजधानीबाट परिचित हुन थाल्यो। लडाईँ विजय भएपछि कर्णेल उजिरसिंह थापाले श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको निर्माण गरी सिन्दूरजात्रा चलाएका थिए। यसले तानसेन ऐतिहासिक र सांस्कृतिक रूपले आकर्षणको केन्द्र बन्न पुग्यो।

हरेक दिन मन्दिरहरूमा गुञ्जिने घण्टका नादहरूसँगै परम्परागत रूपमा गाइने डाफा भजन, उल्लासँगै मादलको थापसँगै साटिएका झाम्रे, धार्मिक पूजाआजा र पर्वपर्वमा गाइने कीर्तनलगायत तीजका गीतहरू, जात्रा, मेला, पर्व आदि सांस्कृतिक पाटोले तानसेन एउटा जुट्ने थलोका रूपमा विकसित भयो। वख्तावरसिंह थापाको पालामा तानसेनमा आफ्नै स्वामित्व रहने गरी घर बनाउन हुकुम प्रमांगी भएपछि तानसेन झनै गुल्जार भयो।

श्री ३ जंगबहादुर राणाको उदयसँगै नेपालको राजनीतिले कोल्टो फेर्‍यो। पाल्पा पश्चिम नेपालको प्रमुख सैनिक केन्द्र हुनुका साथै सरकारी उथौती पुथौती पनि बेसी हुने ठाउँ थियो। आर्थिक रूपले सम्पन्न यहाँ श्री ३ जंगबहादुर राणाले आफ्नै नजिकका भाइभारदारलाई तैनाथवाला बनाई पठाएका थिए। राणाकालमा तानसेनका विभिन्न फाँटमा मनज्ञ विकास भयो। न्युयोक्लासिकल शैलीका स्मारक र मठमन्दिर निर्माण हुनुका साथै नयाँ प्रविधिबाट बाँझाबाट पाइपलाइन बिछ्याएर तानसेन बजारमा खानेपानीको व्यवस्था गरिएको थियो।

स्वास्थ्य क्षेत्रमा श्री ३ चन्द्रशमशेरको पालामा तानसेनमा आधुनिक चिकित्सा तहद ‘पृथ्वी–चन्द्र अस्पताल’ खुल्यो। यसले तानसेन त्यस क्षेत्रको स्वास्थ्य केन्द्रका रूपमा परिचित भयो। राणाकालमा भौतिक विकास मात्र भएनन्, सांस्कृतिक रूपमा पनि तानसेन घनीभूत भएको थियो। आर्य र मगर संस्कृतिको बहुल त थियो नै, राणाकालमा नेवारी संस्कृति भित्रिँदा तानसेन सांस्कृतिक इन्द्रधनुषीय मिलनबिन्दु पनि बन्न पुग्यो।

तानसेनमा हुने विभिन्न देवीदेवताका जात्रा, गाईजात्रा, रोपाइँ जात्रा, छोकडा नाच र अन्य चाडपर्वको रसिकताले तानसेनको आकर्षण बढ्दै गयो। यससँगै बस्ती विकासमा पनि ठूलो फट्को मार्‍योे। राणाकालको अन्तिम प्रहरमा पद्म पब्लिक हाइस्कुल खुलेपछि तानसेन शैक्षिक जागरणको थलोका रूपमा पनि विकास भयो। त्यसको प्रोक्सी इन्डिकेटरका रूपमा बस्ती विकास भएको थियो। सात सालको परिवर्तनको केन्द्रबिन्दुका रूपमा रहेको तानसेन चेतना र शिक्षाको सहरका रूपमा चिनियो। सँगै युनाइटेड मिसन टु नेपालअन्तर्गत खुलेको ‘मिसन हस्पिटल’ले यस क्षेत्रको स्वास्थ्य केन्द्रका रूपमा तानसेन परिचित हुन गयो।

सन् १९५२–५४ मा भएको पहिलो आधुनिक राष्ट्रिय जनगणनाले पाँच हजारभन्दा बढी जनसंख्या भएका १० वटा ठाउँलाई ‘सहर’ घोषणा गरिएको थियो। सन् १९६२ मा १६ वटा नगरको घोषणा भयो। तीमध्ये तानसेन एक थियो। सात सालमा आएको परिवर्तनले तानसेनलाई नयाँ ढाँचामा प्रस्तुत गर्‍यो। सात सालको परिवर्तनपछि तानसेन शैक्षिक मण्डीका रूपमा विकास भयो।

गुल्मी, अर्घाखाँची, बागलुङ, पर्वत, रूपन्देही (बुटवल, भैरहवा), तौलिहवा, परासी आदि छिमेकी जिल्लालाई शिक्षाको पारिलो घामबाट न्यानो पार्नुका साथै सांस्कृतिक नगरका रूपमा यसले प्रसिद्धि कमायो। आर्थिक मेरुदण्डका रूपमा सुनौली–पोखरा राजमार्ग (सिद्धार्थ राजमार्ग) खुलेपछि तानसेन एन्ट्री पट ट्रेडका रूपमा विकास भयो।

सीमापारिबाट भित्रिएका सामान यहाँबाट पहाडतिर जाने र पहाडका जिनिस यहाँबाट बाहिर जाने भएपछि तानसेन पहाडी व्यापारिक मण्डीका रूपमा विकास हुन पुग्यो। विकासले प्रतिकूलता पनि निम्त्याउने गर्छ। सडक सञ्जालको पहुँच तानसेन हुँदै अरू जिल्लामा पुग्न थालेपछि तानसेनको व्यापारमा भएको एकाधिकार टुट्न गयो।

शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर अरू ठाउँमा पनि उपलब्ध हुन थाले। सेनकालमा बुनिने घरबुना कपडा र त्यसबाट तयार भएको लुगा बिक्री हुने तानसेन सन् १८०९ देखि गोर्खा कमान्डर तथा उनीहरूका कर्मचारीहरूको हेडक्वार्टर, सामरिक स्थल, जब्बर सैनिक केन्द्र, तामाको पैसा टकमरी हुने तानसेन, पर्सिबल लन्डनले देखेको भैरहवा (बेथरी) जो सानो बस्ती थियो, त्यति बेला नै विकसित नगरका रूपमा स्थापित तानसेन ‘नगर’ नभई ‘बजार’ मात्र थियो।

त्यस बखत नेपालको ठूलो सहरमध्ये एक तानसेनले अहिले विकासको गतिमा पछि परेको अनुभव गरेको छे। नयाँ संरचनाले कस्तो विकास ल्याउला भन्दै लाहुर गएको छोरा कहिले आउला भनी बाटो हेर्दै पर्खिरहेकी बूढी आमाझैं छ, आजको तानसेन।

सम्बन्धित खबरहरु