राबात, (रासस–एपी) । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गर्नु भएको थियो ।

 

 

 

उहाँले यसअघि अल्जेरियाको भ्रमण गर्नु भएको थियो । सन् २००६ यता पहिलो पटक अमेरिकी रक्षामन्त्री अल्जेरियाको भ्रमणमा जानु भएको हो । राष्ट्रपति र सेनापतिसँग भेटवार्ता भएपनि अल्जेरियासँग कुनै सम्झौता भएको सार्वजनिक भएको छैन ।

 

 

साहेल क्षेत्रमा उत्पन्न असुरक्षाको स्थितिलाई ध्यानमा राखेर सैन्य समझदारी गर्न अल्जेरियाली नेताहरुसँग मन्त्री एस्परले प्रस्ताव राख्नु भएको थियो । संयुक्तराज्य अमेरिकाका लागि मोरक्को प्रमुख गैर–नेटो सदस्य राष्ट्र हो ।

 

 

अमेरिकी रक्षामन्त्री एस्परले मोरक्कोका विदेश मन्त्री नास्सेर बौरितासँग भेटवार्ता गर्नु भएको थियो । सैन्य सम्झौतापछि दुबै देशबीचको सहकार्यलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । मोरक्कोका लागि अमेरिका सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मुलुक हो । मोरक्कोले हरेक वर्ष “अफ्रिका लायन” नामको अमेरिकी सैन्य अभ्यास पनि आयोजना गर्दछ । कोरोनाभाइरसका कारण यसवर्ष उक्त अभ्यास रद्द गरिएको छ ।

 

 

 

सम्बन्धित खबरहरु