काठमाडौ । अफगानिस्तानको राजधानी काबुलमा चार वर्षअघि भएको घटनामा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीहरुको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ । २० जुन २०१६ मा क्यानडाको राजदूतावासअघि भएको घटनामा परी १५ नेपाली र केही भारतीय सुरक्षागार्डको मृत्यु भएको थियो ।

विहानको समयमा नेपाली सुरक्षागार्डहरु बस्ने घरबाट उनीहरुलाई क्यानडेली दुतावास तर्फ आउँदै गर्दा त्यो घटना भएको थियो । तालिवानले जिम्मा लिएको त्यो घटनामा परी झण्डै एक दर्जन नेपाली सुरक्षागार्ड घाइते भएका थिए ।

 

 

 

उनीहरुलाई नेपाल सरकारको पहलमा भारतको एपोलो अस्पतालमा ल्याएर उपचार गरिएको थियो । घटनामा ठूलो आवाजका कारण घाइते भएका धेरै कान्न नसुन्ने समस्या भोगिरहेका छन् ।

 

 

घटनामा ज्यान गुमाएकाहरुको परिवार र घाइतेले दुई करोड डलर क्षतिपूर्ति माग गर्दै क्यानडा सरकारविरुद्ध दुई वर्षअघि अदालतमा मुद्दा दायर गरेका थिए । क्यानडा सरकारले घटनाका घाइते र मृत्यु भएका परिवारसँग गोप्यरुपमा यो मुद्दा सुल्झाएको समाचार संस्था सीबीसी न्युजले जनाएको छ ।

 

 

क्यानडाको दूतावासको सुरक्षाको जिम्मा लिएको कम्पनीले आफ्ना सुरक्षाकर्मीहरुलाई घटनापछि केहीलाई आशिंक क्षतिपूर्ति दिएको र केहीलाई भने कुनै पनि क्षतिपूर्ति दिएको थिएन । घाइतेको सुरुवाति उपचार गरिदिएको कम्पनी नै गायब भएपछि पीडितले क्यानडा सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।

 

 

चार वर्षपछि घटनाका पीडितका परिवारसँग सहमति गरेर मुद्दा मिलाइएको समाचारमा उल्लेख गरिएको छ । पीडितको परिवारको पहिचान भने गोप्य राखिएको छ ।

 

 

‘म तपाइँलाई के भन्न चाहन्छु भने पीडितका परिवार यो मिलापत्रबाट सन्तुष्ट छन् र उनीहरु क्यानडा सरकारले त्यो घटनाको समयमा काबुलमा रहेको दूतावासको रक्षा गरिरहेका मानिसहरुको योगदान र सेवालाई सम्मान गरेको विश्वास गरेका छन्’, नेपाली परिवारको तर्फबाट मुद्दा लडिरहेका वकिल जो फियोरेन्टेले भनेका छन् । उनले अब क्यानडा सरकारले सुरक्षागार्ड लिँदा नाम चलेको र विश्वासिलो कम्पनी छनौट गर्ने नीति लिने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबरहरु