काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँको यो पछिल्लो बयानले विद्यार्थीमा तरंग पैदा भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण उच्च गतिमा फैलिरहेका बेला कतै सरकारले जोडबलमा परीक्षा त गराउने हैन भन्ने त्रास उनीहरुमा छ । यही बीचमा शिक्षा मन्त्रीले विद्यालय तहको अन्तिम परीक्षा भएकाले लिखित लिनुको विकल्प नभएको स्पष्ट पार्नुभएको छ ।

 

 

परीक्षासम्बन्धी गृहकार्य गरिरहेका तथा केही दिनमा निर्णय हुने जानकारी दिँदै उहाँले दुर्गममा होम सेन्टर, सुगममा नजिकको परीक्षा केन्द्रमा व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले जिल्लाबाहिर रहेका विद्यार्थीको तथ्यांक संकलन गरिरहेको र सो तथ्यांक प्राप्त भएपछि कसरी लिखित परीक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुने मन्त्रीले बताउनुभयो ।

 

 

 

मन्त्रालयको पछिल्लो तयारीको अवस्था विश्लेषण गर्दा मंसिरयता परीक्षा हुने छाँट देखिएको छैन । मन्त्री पोखरेलले भने अन्तिम तयारी भइरहेको दाबी गर्नुभयो । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारीसाधनको सुविधा भएको घर पायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्थापन गर्न बोर्डलाई निर्देशन दिने तयारी गरेको छ ।

 

 

मन्त्रालयका प्रवक्ता दीपक शर्माले लिखितरुपमा परीक्षा लिने प्रस्तावको बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्र परीक्षा गर्ने तयारी भइरहेको छ ।’

 

 

मन्त्रालयले सबै विधि र प्रक्रिया तयार गरी गएको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गरेको थियो । गएको मन्त्रिपरिषद्को बैठकले कक्षा १२ को परीक्षाको विषयलाई प्राथमिकतामा नराखी राजदूत र मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेको थियो ।

 

 

कक्षा १२ को विषयमा कहिले निर्णय हुन्छ भन्न सक्ने अवस्था छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका ५ सहित झन्डै ७५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै काम बन्द गर्नुभएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

योपनि

https://www.janaboli.com/post/299457

https://www.janaboli.com/post/299825

 

 

 

सम्बन्धित खबरहरु