काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रदेश राजधानीका विषयलाई लिएर प्रदेश ५ मा भएको अभद्रतालाई लिएर खेद जनाउनु भएको छ । प्रदेश सभामा प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले कुर्सी भाचेर हंगामा मच्चाएपछि तनाव उत्पन्न भएको हो ।

 

 

 

यस विषयमा आफ्नो धारणा राख्दै थापाले सामाजिक सञ्जाल ट्वीट गर्दै लेख्नु भएको छ, ‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ ।

 

 

 

संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।’

 

 

उहाँले थप लेख्नु भएको छ, ‘प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ। आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ।

 

 

प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो। प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ ।’

 

 

विपक्षी सांसदहरुलाई रिसाएका आन्तरिक तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा तोडफोड गर्ने सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएकोबारे पनि आफ्नो कुरा राख्नु भएको छ ।

 

 

मन्त्रीले प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि छलफल गर्ने क्रममा उहाँले सांसदलाई ‘घिसारेर निकाली हाल’ भन्ने शब्दको प्रयोग गरी बाहिर निकाल्न निर्देशन दिनु भएको थियो ।

 

 

यस सम्बन्धमा थापा लेख्नुहुन्छ, ‘नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।’

 

 

 

सम्बन्धित खबरहरु