काठमाडौं । ओखलढुङ्गा जिल्लाको ठाडेका होमस्टे पुनःसंचालनमा आएका छन् । कोरोना माहामारीको त्रासका कारण बन्द रहेका होमस्टे छ महिना पछि पुनः सञ्चालन गरिएको हो ।

लामो समयको लकडाउन र निषेद्याज्ञामा बन्द रहेका होमस्टे बडादशैं र दिपावलीजस्ता चाडपर्व नजिकिएसंगै मानिसको चहलपहल पनि हुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर होमस्टेको सेवा पुनः शुरु गरिएको ठाडे मगर सामुदायिक होमस्टेका उपाध्यक्ष हरिकुमार मगरले बताउनुभयो ।

आन्तरिक पर्यटक र सुरक्षा अपनाएर आउने पाहुनाले सामजिक दूरी कायम गर्नुपर्ने, होमस्टे प्रवेश गर्नुअघि र समूहमा बस्दा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उपाध्यक्ष मगरले जोड दिनुभयो ।

ठाडेका वासिन्दाले सामूहिकरूपमा चलाएका होमस्टेमा पाहुनाका लागि हातधुने ठाँउ, साबुन र स्यानिटाईजरको पनि व्यवस्था गरिएको छ । लामो समयको लकडाउनले होमस्टे व्यवसाय सङ्कटमा परेकाले सतर्कता अपनाएर सेवा शुरु गरिएको स्थानीय व्यवसायीले बताए ।

गत चैत दोस्रो साताबाट बन्द भएका होमस्टे खुलेपछि विगत वर्षको जस्तो पाहुना नआए पनि सम्पर्कमार्फत सुरक्षित भएर आउने सिमित पाहुनालाई सेवा दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पारस मगरले बताउनुभयो । शहरमा बस्ने धेरैजसो अहिले गाउँमा रहेकाले जैविक परिकारको स्वादमा रमाउन चाहनेहरु मात्रै होमस्टेमा आउने गरेको उहाँको भनाइ थियो ।

ठाडेबजार समुन्द्री सतहबाट करिब २ हजार ९ सय मिटर उचाईमा छ । सगरमाथाको प्रवेशमार्गमा पर्ने ठाडे बजार सोलुखुम्बुको पत्ताले नजिक पर्दछ । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य दर्जनौं हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।

यहाँको होमस्टेमा पुग्ने पाहुनालाई आलुको ढिडो (रिल्दुक), गोर्मालिक (गहुँको पिठो दूधमा पकाएको परिकार), स्याक्पा, सिमी, मकै, फापरको ढिंडोलगायत स्थानीय परिकार खुवाउने र मगर समुदायको संस्कारले सत्कार गर्ने चलन छ ।

सम्बन्धित खबरहरु