काठमाडौ । बुधबार थप ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा सक्रय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ जानकारी दिएका हुन् ।

 

 

गत असोज ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

 

 

 

तर, बुधबार लकडाउनको बोर्डर लाइन अनुरुप २५ हजार सक्रिय संक्रमित नाघ्दा अब लकडाउन हुन्छ वा हुँदैन भन्ने प्रश्न उठ्न थालेको छ । त्यसो भए के हब लकडाउन हुन्छ त ?

 

 

लकडाउन सम्बन्धमा उब्जिएको शंकाबारे प्रस्ट पार्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउनको सम्भावनालाई अस्वीकार गरेका छन्।

 

 

लकडाउनमा जाने कुराको विरोध हुने डरले सरकार पछिल्लो समय सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपनि पुनः लकडाउनमा नजाने मनस्थितीमा रहेको बुझिन्छ।बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले यहि गतिमा संक्रमित थपिरहे अस्पतालले धान्न नसक्ने बताएका छन्।

 

 

 

काठमाडौंमा दिन प्रतिदिन कोरोनाको संक्रमण दर बढीरहँदा प्रवक्ता गौतमले एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै काठमाडौं भित्रिने सबै नाका सिल गरेर १५ देखि २० दिन परीक्षण गरेमा कोरोना नियन्त्रणमा आउँने बताएका छन् ।

 

 

 

यसअघि चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन थियो । त्यसपछि लकडाउन वा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइयो र, भदौ पहिलो साता संक्रमण बढेसँगै धेरै जिल्लामा निषेधाज्ञा थियो । पछिल्लो समय निशेषज्ञा हटेको छ भने असोज १ गतेबाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान, होटल रेस्टुरेन्ट सबै खुला भएको छ ।

 

 

 

तर, कोरोना संक्रमण भने नियन्त्रणमा आउन सकेको छैन । विशेषगरी काठमाडौं उपत्यकामा दिन प्रतिदिन संक्रमण बढेसँगै सरकारले जनस्वास्थ्य सुरक्षाको मापदण्डहरू पालना गर्न आग्रह गर्दै आएको छ भने नजिकिँदै गरेको नेपालीहरुको महान चाड दशैमा लिईने आशिर्वाद अर्को वर्षका लागि साँचेर राख्न आग्रह गरेको छ ।

 

 

बुधबार मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञवालीले महामारीका बेला जेष्ठ नागरिकको स्वास्थ्य अवस्था ख्याल गर्दै टाढाबाट नै आशिर्वाद लिन र प्रत्यक्ष नभेटेर नै दशै मनाउन अनुरोध गरेका हुन् । उनले दशैमा काठमाडौं उपत्यकाबाट बाहिर र बाहिरबाट उपत्यका ओहोर दोहोर नगरि दिन पनि आग्रह गरे ।

 

 

पछिल्लो २४ घण्टामा मात्र देशभर ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् , जसमध्ये १ हजार ६ सय ८४ संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । यस्तै बुधबार कोरोना संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् भने मृतकको संख्या ५ सय ७८ पुगेको छ ।

सम्बन्धित खबरहरु