काठमाडौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा एक लाखभन्दा बढी नेपाली भाषी मतदाता सहभागी हुने देखिएको छ। पछिल्लो मतदाता नामावली सार्वजनिक हुँदा डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यरिटीले दिएको जानकारी अनुसार नेपाली मतदाता ५० हजार भन्दा बढी र नेपाली भाषी भुटानी ५० हजारको हाराहारीमा रहेको उल्लेख छ।

 

 

राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा अमेरिकामा रहेका नेपाली र नेपाली भाषी अमेरिकनहरुमा चुनावप्रति चासो र सक्रियता बढ्न थालेको हो। आफ्नो माहोल बनाउन आईतबार नेपलिज् अमेरिकन फर विडेन नामक समूह र वेबसाईड सार्वजनिक गरिएको छ।

निर्वाचनमा राष्ट्रपति उम्मेदवार जोय वाईडेनलाई जिताउन स्थापित समूहको आज भएको जुम बैठकमा मेरील्याण्ड राज्यका डेलिगेड्स ह्यारी भण्डारीको संयोजकत्वमा स्थापित समितिमा विभिन्न ३५ भन्दा बढी राज्यहरुबाट अमेरिकी राजनीतिमा सक्रिय नेपाली तथा नेपाली भाषी भुटानीहरु सक्रिय रहेका छन्।

 

 

बैठकमा अमेरिकी डेमोक्रेटिक पार्टीका शक्तिशाली सिनेटर क्रिस भान होलेनले नेपाली अमेरिकनहरुलाई अमेरिकी राजनीतिमा सहभागी हुन आव्हान गर्दै टिपिएसको नविकरणका लागि आफुले अमेरिकी सिनेटमा लविड गर्ने प्रतिवद्धता प्रकट गरे।

 

 

यस बैठकमा अमेरिकन राजनीतिज्ञ चर्चित सिनेटर क्रिस भ्यान होलेन, कांग्रेसओम्यान लिण्डा सेन्चेज, एएपीआईका बेल होङ र रोबी लिओनार्ड, मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीका साथै विभिन्न राज्यहरुबाट अमेरिकन राजनीतिमा सहभागी नेपालीको सक्रिय सहभागीता रहेको थियो।

 

 

यस कार्यक्रमले अमेरिकी राजनीतिमा चासो राख्नेहरुका लागि अमेरिकी मुलधारको राजनीतिमा सहभागी हुन सहज हुने ह्यारी भण्डारीले बताए। यो शुरुवात हो र हामीले अमेरिकी राजनीतिमा आफ्नो प्रभाव र सहभागीता देखाएर मुलधारको राजनीतिमा प्रवेश गर्नेहरुका लागि आगामी दिन सजिलो हुने विश्वास छ।

 

 

नेपाली भाषी भुटानीकोतर्फबाट ओहायो राज्यको रेनल्सवर्ग सीटी काउन्सिल म्यान रहेका भुवन प्याकुरेलले दिएको जानकारी अनुसार अमेरिका आएका ८८ हजार नेपाली भाषी भुटानीहरुमा ५० हजारभन्दा बढी अमेरिकी नागरिकता लिई सकेका छन् । सन् २००८ बाट ओरिकाक आउन शुरु गरेका नेपाली भाषी भुटानीहरु सन २०१७ सम्म ८८ हजार भन्दा बढी आएका हुन्।

 

 

अमेरिकामा रहेका नेपालीहरु एसियन मुलुलका अन्य समुदाय भन्दा अमेरिकी राजनीतिमा कम सहभागी रहेका छन्। कारण भाषा र नेतृत्व लिनेहरुको अभाव जस्तो देखिन्छ। पहिलो पल्ट मेरिल्याण्डबाट ह्यारी भण्डारीले अमेरिकी राजनीतिको उपल्लोस्तरमा सहभागीता जनाएपछि नेपालीहरु अमेरिकी राजनीतिमा आउन जुर्मुराउन थालेका छन।

 

 

अमेरिकी राष्ट्रपति चुनाव आउन अब केही हप्तामात्र बाँकी रहेको छ। तर चुनाव कस्ले जित्छ त्यो थाहा पाउन भने विगतका चुनावको तुलनामा लामो समय प्रतिक्षा गर्नुपर्ने छ। हुलाकमार्फत मतपत्र पठाएर मतदान शुरु भई सकेको छ। जम्मा ५ सय ३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ।

 

 

अमेरिकी चुनाव २०२०: राष्ट्रपतीय निर्वाचनमा प्रयोग हुने चुनावी मत भनेको के हो

अमेरिकामा एक सय दिनभन्दा कम समयमा राष्ट्रपतीय निर्वाचन हुनेछ। तर आमजनताले धेरै मत दिएका उम्मेद्वार विजयी नहुन पनि सक्छन्। मतदाताको प्रत्यक्ष मतबाट राष्ट्रपति नछानिने भएकोले त्यो सम्भावना छ। राष्ट्रपति प्रत्यक्ष मतबाट नभई त्यसको आधारमा हुने चुनावी मतका आधारमा हुन्छ। त्यसैलाई इलेक्टोरल कलेज भनिन्छ।

 

 

त्यसो भए अमेरिकीहरूले कसलाई मत दिइरहेका छन्?

राष्ट्रपतीय निर्वाचनमा मत हाल्न जाँदा अमेरिकीहरू खासमा इलेक्टोरल कलेजका अधिकारीहरूको समूहलाई भोट हाल्न जान्छन्। "कलेज" शब्दले यहाँ सामान्यत: मानिसको एउटा समूहलाई जनाउँछ। यो समूहमा रहेका मानिसलाई इलेक्टर्स भनिन्छ र उनीहरूको काम भनेको राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्नु हो। इलेक्टोरल कलेज प्रत्येक चार वर्षमा हुने चुनावको दिनको केही सातापछि हुन्छ जसले राष्ट्रपति र उपराष्ट्रपति छान्ने काम गर्छ।

 

 

इलेक्टोरल कलेजले कसरी काम गर्छ?

प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकार अनुसार इलेक्टर्सको सङ्ख्या तोकिएको हुन्छ। इलेक्टर्सको जम्मा सङ्ख्या ५३८ रहेको छ। क्यालिफोर्निया राज्यमा सबैभन्दा बढी ५५ इलेक्टर्सहरू छन् भने सानो जनसङ्ख्या रहेका अलास्का र नर्थ डकोटा राज्यमा तीन जना छन्।

 

 

प्रत्येक एक इलेक्टरले एउटा इलेक्टोरल भोटको प्रतिनिधित्व गर्छ र उम्मेद्वारले राष्ट्रपतीय निर्वाचन जित्नका लागि २७० वा त्योभन्दा बढी इलेक्टोरल मत प्रात्प गर्नुपर्छ। सामान्यतया, आम मतदाताले जसलाई धेरै मत दिन्छन् उक्त राज्यमा उसैलाई सबै इलेक्टोरल कलेजको मत दिइन्छ।

 

 

उदाहरणका लागि, रिपब्लिकनतर्फको उम्मेद्वारले ५०.१ प्रतिशत मत टेक्सस राज्यमा ल्याएर जिते उक्त राज्यको सबै ३८ इलेक्टोरल कलेजको मत नै उसैलाई दिइन्छ। तर मेइन र नेब्रास्का यी दुई राज्यले भने प्रत्येक उम्मेद्वारले पाएको मत अनुसार इलेक्टोरल कलेजको मतमा भाग लगाउँछन्।

 

 

त्यसैले देशभर धेरै मतदाताको मत जित्ने कोसिसभन्दा पनि राष्ट्रपतीय निर्वाचनका उम्मेद्वारले मत जता पनि जानसक्ने खालका "स्वीङ राज्यहरू"लाई खास लक्षित गर्छन्। उनीहरूले जित्ने प्रत्येक राज्यले उनीहरूलाई आवश्यक २७० इलेक्टोरल कलेज मत ल्याउनका लागि नजिक पुर्‍याउँछ।

 

 

आमजनताको धेरै मत ल्याएर पनि राष्ट्रपति नबन्ने हुन्छ?

पक्का हुन्छ। राष्ट्रिय रुपमा मतदातामाझ सबैभन्दा चर्चित भएर पनि २७० इलेक्टोरल मत ल्याउन नसक्ने सम्भावना पनि रहन्छ। खासमा पछिल्ला पाँच निर्वाचनमध्ये दुईवटा निर्वाचनमा त्यस्तै उम्मेद्वारहरूले राष्ट्रपतीय चुनाव जितेका हुन् जसले आफ्ना प्रतिद्वन्द्वीभन्दा आमजनताबाट कम मत पाएका थिए।

 

 

सन् २०१६ मा डोनल्ड ट्रम्पले हिलरी क्लिन्टनभन्दा झण्डै ३० लाख मत कम ल्याएका थिए, तर इलेक्टोरल कलेजले उनलाई बहुमत दिएका कारण उनी राष्ट्रपतिमा निर्वाचित भए।

 

 

यो निर्वाचन प्रणाली किन छानियो?

सन् १७८७ मा अमेरिकाको संविधान बनाइँदै गर्दा राष्ट्रिय 'पपुलर भोट'बाट राष्ट्रपति निर्वाचित गर्नका लागि देशको आकार र सञ्चारको कठिनाइका कारण व्यवहारिक रुपमा सम्भव थिएन। त्यही बेला राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति छान्नका लागि सांसदलाई अनुमति दिने विषयमा पनि थोरै उत्साह थियो।

 

 

त्यसैले संविधान निर्माताहरूले प्रत्येक राज्यले इलेक्टरहरू छान्न पाउने गरी इलेक्टोरल कलेज बनाए। राज्यको जनसङ्ख्याका आधारमा इलेक्टोरल मतहरूको सङ्ख्या निर्धारण हुने भएकोले राष्ट्रपति निर्वाचित गर्नका लागि दक्षिणी राज्यहरूको प्रभाव बढी हुन्छ।

 

 

इलेक्टरहरूले उम्मेद्वारलाई मत दिनुपर्छ?

केही राज्यहरूमा इलेक्टरहरूले आफूलाई जुन उम्मेद्वार मनपर्छ उसैलाई मत दिनसक्छन्। तर व्यवहारमा भने इलेक्टरहरूले त्यो राज्यमा जसले आममतदाताबाट धेरै मत पाएको छ उसकै उम्मेद्वारलाई मत दिन्छन्। उक्त राज्यले राष्ट्रपतिका लागि भनेर जुन उम्मेद्वारलाई दिएको हुन्छ त्योभन्दा फरकलाई यदि इलेक्टरले मत दियो भने उसलाई "विश्वासघाती" को संज्ञा दिइन्छ।

 

 

यदि कुनै उम्मेद्वारले पनि बहुमत पाएनन् भने के हुन्छ?

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा त्यसपछि राष्ट्रपति निर्वाचित गर्नका लागि मतदान हुन्छ। तर यो एकपटक मात्रै भएको छ। सन् १८२४ मा चार उम्मेद्वारमा इलेक्टोरल भोट बाँडिदा कसैको पनि बहुमत आएको थिएन। अमेरिकाको निर्वाचन प्रणालीमा अहिले दुईवटा पार्टी हाबी भएकाले आजको दिनमा यो हुने सम्भावना देखिँदैन। -बीबीसीको सहयोगमा

सम्बन्धित खबरहरु