काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसलाई लिएर सरकारले नयाँ बयान जारी गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताउनु भएको छ ।

 

 

 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको बताउनुभयो । मन्त्री ज्ञवालीले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन सबैसँग अनुरोध गर्नुभयो ।

 

 

 

उहाँका अनुसार कोरोना भाइरस खासगरी काठमाडौंमा तीव्र बन्दै गएको छ । बाहिर कतिपय जिल्लाले राम्रोसँग व्यवस्थापन गरिएको देखिए पनि काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको उहाँको बुझाई रहेको छ । उहाँले यसलाई कुनै पनि अर्थमा हल्का ढंगले नलिन आग्रह गर्नुभयो ।

 

 

 

नेपालकै कतिपय जिल्ला कोरोनाको हटस्पट बन्न लागे पनि नियन्त्रण गरिएको भए पनि काठमाडौं उपत्यकामा कोरोना व्यवस्थापनमा सरकार, जनप्रतिनिधि चुकिरहेको मन्त्री ज्ञवालीले स्वीकार गर्नुभयो ।

 

 

उहाँले काठमाडौं देशलाई नमुना दिने दृष्टान्त प्रस्तुत गर्ने राजधानी सहर भएको जनाउनुभयो । हरेक राजनीतिक सामाजिक परिवर्तनहरुमा त्यही भूमिका खेलेको काठमाडौंले महामारीविरुद्धको लडाइँमा चाहिँ अलि पछाडि परेको जानकारी गराउनुभयो ।

 

 

 

उपत्यकाका जनप्रतिनिधि र स्थानीय सरकारहरुले कोरोना नियन्त्रणका सवालमा देशभित्रका ‘बेस्ट प्राक्टिस’ हरुबाट पाठ सिक्न जरुरी रहेको उहाँको भनाइ थियो । ४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित भयो भने भयावह स्थिति हुने भन्दै उनले अस्पतालहरुमा बेड, आईसीयू अभाव हुन थालेको उल्लेख गर्नुभयो ।

 

 

दैनिक देखिने संक्रमितमध्ये ६० प्रतिशत राजधानीका रहेको र त्यसविरुद्धको उपचारका लागि सरकारले सामर्थ्य बढाइरहे पनि पर्याप्त नभएको उहाँको बुझाई रहेको छ ।

 

 

 

सम्बन्धित खबरहरु