काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमाम रुपान्तरण गर्ने, आइसोलेसन सेन्टरहरुलाई लक्षण भएका कोभिडका विरामीको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने तथा होटलसँग पनि सम्झौता गर्न सक्ने व्यबस्था गर्ने निर्णय गरेको छ ।

 

मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को आइतबार बसेको बैठकले सबै सरकारी अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विषयगत् अस्पतालले बाहेक सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामी परीक्षण र भर्ना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

 

 

 

काठमाडौं उपत्यकाभित्र शहीद गंगालाल हृदय रोग, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूती गृह र कान्ति बाल अस्पताल विषयगत् अस्पतालहरु हुन । यी अस्पतालमा निदान हुने रोगका कोरोना सङ्क्रमित सोही अस्पतालमा गएर उपचार गराउनेछन् । त्यस अतिरिक्तका सबै सरकारी अस्पतालहरुमा कोरोना सङ्क्रमितको उपचार हुने मन्त्रालयले जनाएको छ ।

 

 

 

मन्त्रालयले आकस्मिक बाहेकका शल्यक्रिया नगर्न समेत अस्पतालहरुलाई निर्देशन दिएको छ । प्रवक्ता डा. गौतमले ‘इलेक्टिभ ओपरेशन’ नगर्न निर्देशन दिइएको जानकारी दिनुभयो । मन्त्रालयले आकस्मिकका बाहेकका शल्यक्रिया रोकिएपछि आवश्यक पर्ने सघन उपचार सामग्री मौज्दात हुने र यसले कोरोना सङ्क्रमित जटिल बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास लिएको छ ।

 

 

 

त्यस अतिरिक्त मन्त्रालयले सरकारी अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु स्वास्थ्य सेवा विभागबाट आपूर्ति गरिने जनाएको छ । विभागले उपत्यकाका अस्पतालमा केन्द्रित भएर सघन उपचार सामग्रीहरु व्यवस्थापन गर्नेछन् । त्यसैगरी, स्वास्थ्य मन्त्रलायको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सरकारी वा नीजि अस्पतालले शय्या अभावमा कोभिड–१९ को बिरामीलाई उपचारका लागि होटेलसँग सम्झौता गर्न सक्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले उक्त निर्णय सरकारी र नीजि दुबै अस्पतालका लागि लागू हुने प्रष्ट्याउनुभयो ।

 

 

 

काठमाडौं उपत्यकामा दैनिक रुपमा सङ्क्रमित वृद्धि हुने क्रम बढ्दो छ । मन्त्रालयका अनुसार काठमाडौंमा करिब १६ हजार सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित थपिएको र आइसोलेशन सेन्टर रिक्त भएको अवस्थामा मन्त्रालयले मनमोहन शिक्षण अस्पताल, दहचोक र राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र, कीर्तिपुरको आइसोलेशन सेन्टरलाई लक्षण भएका बिरामी भर्ना गर्ने अस्पतालको रुपमा विकसित गर्ने निर्णय गरेको छ ।

 

 

 

दुबै आइसोलेशन सेन्टरको क्षमता करिब आठ सय रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले भन्नुभयो, “होम आइसोलेशनमा बस्नेको संख्या बढी छ, संस्थागत् आइसोलेशन रिक्त रहेकोले दुबै आइसोलेशन सेन्टरलाई लक्षण भएका सङ्क्रमितको उपचारका लागि छुट्याउने निर्णय भएको हो ।”

 

 

 

हाल काठमाडौं उपत्यका समेत रहेको वागमती प्रदेशमा आठ हजार ८५४ जना संस्थागत् आइसोलेशनमा छन् । १३ हजार ४८९ जना होम आइसोलेशनमा छन् । संस्थागत् आइसोलेशन रिक्त हुँदा त्यसलाई कोभिड–१९ सङ्क्रमित लक्षणसहितको बिरामीमा सदुपयोग गर्दा हाल देखिएको शय्या संकट केही हदसम्म समाधान हुने डा. गौतमले विश्वास ब्यक्त गर्नुभएको खबर आजको गोरखापत्रले प्रकाशन गर्नुभएको छ ।

 

 

 

 

सम्बन्धित खबरहरु