काठमाडौं । मान्छेहरु पैसाका लागि के सम्म गर्न सक्छन् भन्ने पछिल्लो उदाहारण फेला परेको छ । एक व्यक्तिले नक्कली छोरा बनेर ठगी गरेका छन् । नक्कली कागजात बनाएर ५० करोड मूल्य पर्ने जग्गा ठगी गरेको आरोपमा ३३ वर्षीय केवलप्रताप जंगबहादुर राणा पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीका राणाले नक्कली छोरा बनेर पर्साकी कमलादेवी राजभण्डारीको नाममा रहेको जग्गा हडपेको खुल्न आएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीरगन्ज महानगरपालिका–५ मा रहेको चार कित्ता क्रमशः ३, ७१, १४३ र १८६ मा बनेको घरसमेतको जग्गा ठगी गरेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ । राणाले मालपोतका कर्मचारीसँगको मिलेमतोमा जग्गा आफ्नो नाममा ल्याएर वीरगन्जकै गिरिधारी लाल अग्रवालबाट ५० लाख रुपैयाँ बैना लिएको प्रहरीले जानकारी दिएको छ ।

ब्युरो प्रमुख डीआईजी सहकुलबहादुर थापाले राणाले अग्रवाललाई ठग्न आफूलाई मुकेशराज भण्डारी भनेर चिनाएको पाइएको छ । राणाले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मुकेश राजभण्डारीकै नाममा ४७४३ नम्बरको नक्कली नागरिकता लिएको पाइएको छ ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा राणाले आफू जग्गाधनी कमलादेवीको छोरा भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयबाट नक्कली नागरिकता बनाएको खुल्न आएको छ । त्यति मात्र होइन, आफू मुकेश राजभण्डारी भएर राजेश राजभण्डारी, रुपेश राजभण्डारी र कमला राजभण्डारीका नामको नक्कली नागरिकतासमेत उनीसँग फेला परेको छ ।

राजेशले ब्युरोमा जग्गा किर्ते भएको जाहेरी दिएका थिए । राणाले कमला राजभण्डारी र कमलादेवी राजभण्डारी एकै भएको किर्ते कागजसमेत बनाएको प्रहरीले जनाएको छ ।

राणाले मुकेश राजभण्डारीका नाममा जग्गा नामसारी गर्न अस्ट्रेलियास्थित नेपाली राजदूतावासबाट राजेश र रुपेशले दिएको मञ्जुरीनामासमेत किर्ते गरेको पाइएको खबर आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ । डीआईजी थापाले मुकेशका नाममा जग्गा आएपछि राणाले कम्पनी रजिस्ट्रार कार्यालयमा गंगा ट्रेडर्स नामक कम्पनीसमेत दर्ता गरेको पाइएको बताए।

उनका अनुसार त्यही कम्पनीका नाममा राणाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा निकाल्दै आएको पाइएको छ । अग्रवाल घरजग्गा हेर्न पुग्दा स्थानीयले जग्गाधनी अरू नै रहेको बताएपछि मात्रै ठगीको रहस्य खुलेको थियो ।

सम्बन्धित खबरहरु