काठमाडौं । करोडौं नेपालीहरुको मनमा बसेका महानायक राजेश हमाल विवादमा तानिएका छन् । उनी टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ का कारण विवादमा परेका हुन् । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक सञ्जाललगायत चारैतिर विरोध गर्न थालिएको छ । कार्यक्रमका प्रस्तोता भएका कारण त्यसको प्रत्यक्ष असर हमालले व्यहोर्नु परेको हो ।

 

 

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु गरिएको हो । यस कार्यक्रममा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासहित विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरु सहभागि भइसकेका छन् । यो बीचमा अहिले कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै बिरोध हुन थालेको हो ।

 

 

‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले हमाल पनि निसानामा परेका हुन् । हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति अन्याय गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाउन थालिएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज उठाउँदै हमालको पुत्ला बालिएका तस्विर पनि सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् ।

 

 

सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला बाल्दै प्रदर्शन गरेका हुन् । कार्यक्रममार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले आरोप लगाएका छन् । नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग विरोधीहरुको छ ।

 

 

 

सम्बन्धित खबरहरु