काठमाडौ । नेपालका सरकारी अस्पतालहरु जटिल समस्याको निदान गर्नका लागि सफल छन् भन्ने उदाहरण शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल लगायतले प्रमाण पेश गरिसकेका छन् ।

 

 

केही स्वास्थ्य समस्या भए वीर अस्पताल नै पुगेर पूर्व राष्ट्रपति डा. रामवरण यादवले वीर अस्पतालको भरोसा बढाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा नै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर भरोसा जगाउनुभयो । यता शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलेपनि अत्यन्तै जटिल मानिएका शल्यक्रियाहरु सफल गराएर सबैको ध्यान तानेको छ ।

 

 

भर्खरै मात्रपनि शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले १०० प्रतिशत बन्द भएको मुटुको धमनी प्राइमरी एनजियोप्लास्टी गरी खुलाएको छ । यो बारेमा अस्पतालका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले जानकारी दिनुभएको छ ।

 

 

उहाँले सामाजिक सञ्जालमा जनहितका लागि भन्दै लेख्नुभएको छ चालीस वर्ष भन्दा कम उमेरमा हृदयघात हुनु सामान्य होइन। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा प्रत्येक वर्ष लगभग ११ प्रतिशत चालीस वर्ष मुनिका बिरामी हृदयघात भएर आउँछन्। यस्ता बिरामीहरुमा हृदयघात मुटु रोगको कारक धुम्रपान पाइन्छ।

 

 

आज शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा केवल ३२ वर्षका यी बिरामी चुरौटे नै रहेछन । कोरोना कहरका बीचमा पनि प्राइमरी एनजियोप्लास्टी गरी १०० प्रतिशत बन्द भएको मुटुको धमनी खोलियो। हृदयघात भएको लक्षण सुरु भएको १२ घण्टा भित्र गरिने यो उपचार उत्कृष्ट उपचार हो। मुटु लाई माया गरौं सुर्ती चुरोटको सेवन बन्द गरौं।

 

 

 

पहिलो फोटो १०० प्रतिशत बन्द धमनी।

दोस्रो फोटो। प्राइमरी एनजियोप्लास्टी पछि खोलिएको धमनि।

 

 

 

सम्बन्धित खबरहरु