काठमाडौ । भदौ, असोज महिनाको यो चर्किदो घाम । टन्टलापुर घाममा ५० केजीको भारी बोकेर उकालो बाटो हिड्दा कस्तो होला ? हामी मध्ये धेरैले यो दुख भोगेका पनि होलौ । तर ठूलो उमेरकालाई त्यति पिडा नहोला । बाल्यकालमा के होला ?

 

 

हुन त तपाई कोहीले यही शब्द पढ्नासाथ आफ्नो बाल्यकाल पनि सम्झिनुभयो होला । सम्झनुस् भदौ असोजको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको । कति गाह्रो हुन्छ त्यो भोगेकोलाई थाहा हुन्छ । त्यस्तै अहिले एक १२–१३ बर्षको उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ यी उमेरका नानी बाबुको ।

 

 

 

यी तस्विरमा देखिएका बालकको भाग्य त्यस्तो पढ्न, खेल्न, रमाउने भाग्य छैन। यी बालकको पनि मन होला पढ्न, खेल्न, रमाउन । तर यी बालक ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा हिँड्न बाध्य छन् । झनै हृदयविदारक त त्यहाँ छ । एकान्तको उकालोमा ५० केजीको भारी बोकेर उकालो लागेका उनी ।

 

 

माथी चौतारीको बिसौनीमा बिसाउँछन् । त्यही थाहै नपाई निधाएछन् । भारीको नाम्लो उनको निधारमा नै थियो । कुनै बखत उनी हल्लिएर भारी ढलेको भए उनी भीरमा भारीसँगै झर्थै । भगवानको आर्शिवाद त्यो दुखद घटना भने भएन ।

 

 

 

ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै देखिएको तस्विर हो यो । हामीले भारीसँगै निदाएको देखाएपछि अलिक सजिलो गरी सत्न भन्यौँ । त्यसपछि उनी सजिलो तिर गए । यहाँ यी बालक मस्त निदाइरहेका छन् । यी बालक नीलो भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर निदाएका छन् ।

 

 

उनको नजिक ५० केजी जति कोदाको भारी छ । उनको हात खुट्टामा घाउ देख्न सकिन्छ भने उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् । केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे ।

 

 

त्यही कारण उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन । हाम्रो देशमा वालश्रम मुक्त घोषणा गरिए पनि यस्ता धेरै बालक छन् । बालश्रमको नारा जति नै उछालिए पनि कार्यान्वयन असम्भव जस्तै भएको छ । सहरका केही होटलबाट बालक उद्धार गरिएको नाटक रचिन्छ । तर दुर्गम गाउँमा उमेर नपुग्दै आफ्नो तौल भन्दा दोब्बर बढी भारी बोक्न बाध्य छन् ।

 

 

 

सम्बन्धित खबरहरु