काठमाडौ । दशैं, तिहार, छठलगायतका चाडबाड नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला (गाउँ) जाने क्रम तीब्र रुपमा बढिरहेको छ । यसैक्रममा संसदीय उपसमितिले दशैं, तिहारको समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई सुझाव दिएको छ ।

 

 

 

कोरोना भाइरसको महामारी थप भयावह हुन नदिनका लागि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको ‘कोभिड–१९ नियन्त्रणमा सरकारको काम कारबाही अनुगमन उपसमिति’ले उपत्यका प्रवेशको नाका सिल गर्न सुझाव दिएको हो ।

 

 

 

उपसमितिले काठमाडौं उपत्यका कोरोनाको हटस्पट भएर देखा परेको जनाउँदै यसलाई नियन्त्रण गर्नका लागि उपत्यकाको संक्रमित बाहिर नजाउन् भन्नेमा ध्यान दिनुपर्ने सुझाएको छ । साथै कडा लकडाउन गरेर संक्रमण नियन्त्रणमा लिनपनि समितिले सुझाएको छ ।

 

 

 

उपत्यकाबाट बाहिरी जिल्ला जाने कुराले बाहिर जिल्लामा समेत भयावह हुने अवस्था रहेका कारण दशैं–तिहारको बीचमा उपत्यकाको बोर्डर सिल गर्नुपर्ने उपसमितिले निष्कर्ष निकालेको हो ।

 

 

 

काठमाडौं उपत्यका भित्र आउने र बाहिर जाने कुरालाई बन्द गर्नुपर्ने उपसमितिको सुझाव रहेको छ । यसका साथै, उपत्यका बाहिर कोरोना महामारीबाट बच्न सतर्कता नअपनाइएको र अत्याधिक हेलचेक्र्याई भइरहेको पनि उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

 

 

सम्बन्धित खबरहरु