काठमाडौ– आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन टुमा नेपालले खराब सुरुवात गरेको छ । सहज मानिएको युगाण्डासँग मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा १४७ रनको लक्ष्य भेट्टाउन सकेन । अन्ततः जवाफमा नेपाल १४४ रनमा समेटियो र २ रनको झिनो अन्तरले पराजित भयो ।
सामान्य सुरुवात गरेको नेपालले कुल ३५ रन बनाउँदा पहिलो विकेटका रुपमा नरेश बुढायरलाई व्यक्तिगत १६ रनमा गुमायो । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का व्यक्तिगत ५ रनमा आउट भएपछि नेपाल दबावमा आयो । त्यसपछि शरद भेसवाकर ५, विनोद भण्डारी १ र सोमपाल कामी ४ रनमा आउट भए । यसअघि दशौं नम्बरमा व्याटिङ गर्ने सोमपाललाई सातौं नम्बरमा खेलाइएको थियो । तर, प्रशिक्षक र कप्तानको यो रणनीति सफल देखिएन ।
११० रन बनाउँदा ८ विकेट गुमाएको नेपाली टोलीलाई शक्ति गौचनले केही आश देखाए । अन्तिम तीन ओभरमा २७ रन चाहिएको अवस्थामा उनले चौथो र छैटौं बलमा छक्का हान्दै नेपालले आश देखाए ।
अन्तिम ओभरमा नेपाललाई १० रन चाहिएको थियो । करन सिंहले पहिलो बलमा चौका हान्दा खेलमा लयमा फर्किएको थियो । दोस्रो र तेस्रो बलमा रन जोडेको नेपालले चौथो बलमा रन लिन सकेन । पाँचौं बलमा लेग बाइ भएर एक रन पाएको नेपाललाई अन्तिम बलमा ३ रन चाहिएको थियो । तर, बसन्त रेग्मी आउट भएपछि नेपाल २ रनको झिनो अन्तरले पराजित भएको छ ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको युगाण्डाले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १४६ रन बनायो । सामान्य सुरुवात गरेको नेपाल अन्ततः १४४ रनमा समेटियो र २ रनले पराजित भयो ।