जेरुसेलम (रासस–एपी) : इजरायलसँग बहराइनको कुटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको एक टोली आइतबार बहराइनतर्फ प्रस्थान गर्न लागेको छ ।

 

गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा सहमति भएको थियो । आइतबारदेखि हुने इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको संयुक्त टोलीले बहराइनी अधिकारीहरुसँग विभिन्न विषयमा सम्झौता गर्ने अपेक्षा गरिएको छ ।

 

 

 

 

अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–शाबातले आ–आफ्ना मुलुकका कुटनीतिज्ञहरुको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँहरु इजरायलको तेल अभिभस्थित बेन गुरिओन विमानस्थलबाट बहराइन प्रस्थान गर्नु हुने इजरायली अधिकारीहरुले बताएका छन् ।

 

 

इजरायलको व्यावसायिक विमान सेवा एल अलको फ्लाइट ९७३ ले साउदी अरेबियाको हवाई क्षेत्र हुँदै मनामा प्रस्थान गर्नेछ ।

 

 

नाम नबताउने शर्तमा एकजना इजरायली कुटनीतिज्ञले बहराइनसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापनालाई यस भ्रमणले औपचारिकता दिने जानकारी दिनुभयो ।

 

 

गत महिना, सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएयता इजरायल र बहराइनका पदाधिकारीबीच सहयोगका विविध विषयमा छलफल गर्न मनामामा आयोजित समारोहका लागि पहिलो पटक व्यवसायिक उडान भएको थियो ।

 

 

 

इजरायल र बहराइनबीच कुटनीतिक सम्बन्ध स्थापना गर्ने विषयले प्यालिस्टिनी समुदायमा आक्रोश बढाएको छ । प्यालिस्टिनी नेताहरुले इजरायलसँग सम्बन्ध जोडेका बहराइन र संयुक्त अरब इमिरेट्सका नेताहरुले प्यालिस्टिनीलाई धोका दिएको आरोप लगाएका छन् ।

 

 

प्यालिस्टिनी स्वतन्त्र राष्ट्र घोषणा नहुँदासम्म इजरायलसँग दौत्य वा अन्य सम्बन्ध स्थापना नगर्ने यसअघिको अरब राष्ट्रहरुको पूर्व अडानबाट दुई मुलुक पछि हटेको प्यालिस्टिनीहरुको भनाई छ ।

 

 

सम्झौता अनुसार दुई मुलुकले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेसँगै एकअर्काका मुलुकमा राजदूतावास खोल्ने र राजदूतहरु नियुक्त गर्नेछन् । इजरायली अधिकारीहरुका अनुसार अर्को महिनासम्ममा बहराइनमा इजरायलले राजदूतावास खोल्नेछ ।

 

 

 

सम्बन्धित खबरहरु