काठमाडौं । लामो समयदेखि जारी सीमा विवादलाई लिएर भारत–चीन चरम उत्कर्षमा पुगेका छन् । यो बीचमा भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको बताएको छ ।

भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ सेनाका कर्पोरल वाङ या लङलाई एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको छ । चिनियाँ सेनाले उनको अवस्थाबारे खोजी गरेको छ । स्थापित मान्यताअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई चिनियाँ जनमुक्ति सेनासमक्ष हस्तान्तरण गरिनेछ ।’

चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना तथा अन्य सुविधा उपलब्ध गराइएको पनि भारतीय सेनाले जनाएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी छ । हाल भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमा क्षेत्रमा ५० हजारभन्दा बढी सैनिक खटाएका छन् । सीमा विवादका कारण भारत र चीनबीच लामो समयदेखि तनाव जारी छ ।

सम्बन्धित खबरहरु