काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका छोरीज्वाइँ बसेको होटलमा प्रहरीले छापा मारेको छ । पाकिस्तानको सिन्ध प्रहरीले दिएको जानकारी अनुसार सरिफका ज्वाइँलाई पक्राउ गरिएको हो ।

Maryam Nawaz with Muhammad Safdar Awan
Maryam Nawaz with Muhammad Safdar Awan

पाकिस्तान मुस्लिम लीग (नवाज) की नेतृ मरियम नवाजले उनको श्रीमान् पक्राउ परेको जानकारी दिएकी थिइन् ।

मरियमले स्थानीय प्रहरीले कराँचीमा उनी बसेको होटलको कोठामा सुतिरहेको समयमा घुसेर उनका श्रीमान् अवकाशप्राप्त क्याप्टेन मुहम्मद सफदर अवानलाई पक्राउ गरिएको जानकारी दिएकी थिइन् ।

एफआईआरमा पाकिस्तानका संस्थापक नेता मोहम्मद अलि जिन्नाको चिहानको अपमान गरेको आरोप लगाइएको छ । पक्राउ परेको केही समयपछि नै उनलाई प्रहरीले अदालतमा बुझाएको थियो ।

अदालतले उनलाई एक लाख पाकिस्तानी रुपैंयाँ जमानतमा रिहा गरेको छ । उनी पक्राउ परेपछि पाकिस्तानमा तहल्का सुरु भएको छ । उनलाई पक्राउ कसले गरेको हो भन्ने विषयमा अहिले पनि बहस भइरहेको छ ।

सिन्ध प्रान्तमा सरकारको नेतृत्व गरिरहेको पाकिस्तान पिपुल्स पार्टी अहिले पाकिस्तान मुस्लिम लीग (नवाज)सँग मिलेर केन्द्रमा रहेको इमरान खान सरकार विरुद्ध खडा भएको छ ।

पाकिस्तानी सेनाले उनलाई पक्राउ गर्न को लागि सिन्ध प्रहरीलाई दबाब दिएको हुन सक्ने अनुमान पनि गरिएको छ । तर सिन्ध प्रहरीले यस विषयमा कुनै जानकारी दिएको छैन ।

सिन्ध प्रहरीले पक्राउका विषयमा एक ट्वीट गरेको छ । उक्त ट्वीटमा भनिएको छ, ‘क्याप्टेन (अवकाशप्राप्त) सफदरको पक्राउ कानून बमोजिम गरिएको थियो र अनुसन्धान निष्पक्ष हुनेछ । सबै प्रक्रियामा देय प्रक्रिया अनुसरण गरिनेछ ।’

यसअघि आइतबार सरकार विरोधी ११ पार्टीको गठबन्धन पाकिस्तान लोकतान्त्रिक आन्दोलनको एक सभा कराँचीको जिन्ना बाग रंगशालामा आयोजना गरिएको थियो । मरियम नवाज र क्याप्टेन सफदर यसै सभाका लागि कराँचीमा उपस्थित थिए ।

सम्बन्धित खबरहरु