काठमाडौ । आज बिहानै रुपन्देही र सुनसरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जना बुटवल उपमहानगरपालिका हुन् भने एक जना सुनसरीका हुन् ।

 

बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको जनाइएको छ । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

 

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

 

उनमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए । यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

 

संक्रमितको मृत्यु भयो । आफन्त परिवार घरमा क्वारेन्टाइनमा बसेका छन् । अस्पतालले लाश व्यवस्थापन अघि लागेको खर्च तिर्नु भनेर फोन गर्यो । अब पैसा लिएर जाने व्यक्तिपनि छैनन् ।

 

उनीहरुका साथमा पैसा नभएकाले माग्ने र दिने व्यक्तिपनि छैनन् । पैसा भएपनि संक्रमितसम्म पुगेर पैसा दिन सबैलाई डर छ । यो घटनाले नै देखिन थाल्यो सरकारले कोरोना संक्रमित आफैले पैसा तिनुपर्ने निर्णयको असर ।

 

यता आजै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

 

डा. श्रेष्ठका अनुसार ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो । मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।

 

 

 

सम्बन्धित खबरहरु