काठमाडौं । महिलासँग गरिएको च्याटका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक नेता तनावमा छन् । एक महिलसंग फेसबुक च्याटमा गैर जिम्मेवार तरिकाले गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दोलखा जिल्लाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाललाई नेपाल कम्युनिष्ट पार्टी दोलखाले साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको हो ।

 

मंगलबार सम्पन्न जिल्ला कार्यालयको बैठकले ति महिलासंग गरिएका दुलालका संवादसहितका ‘स्क्रिन सट’ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नैतिकता र पार्टी अनुशासनसंग जोडेर संगठित सदस्य समेत नरहने गरी कार्बाही गर्नका लागि नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश कमिटि समक्ष सिफारिस गरेको जानकारी दिइएको छ ।

 

तत्कालिन नेकपा एमालेका दुई पटक जिल्ला सचिव रहेका दुलाल नेकपा दोलखाका सचिवालय सदस्य समेत रहेका थिए । नेपाल कम्युनिष्ट पार्टीको बिधानमा जिल्ला कमिटि सदस्य भन्दा माथिल्लो पदका व्यक्तिलाई जिल्ला पार्टीले स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझे कार्बाहीका लागि प्रदेश कमिटिमा सिफारिस गर्नुपर्ने ब्यवस्था रहेको छ ।

 

मंगलबार बिहान बसेको कार्यालय बैठकले गरेको कार्बाही बारे जिल्ला पार्टीले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन । एक जिल्ला सचिवालय सदस्यका अनुसार त्यस्ता गतिविधि बारे पार्टीमा समेत उजुर परेपछि उनलाई जिल्ला पार्टीले केही साताअघि लिखित स्पष्टीकरण सोधेको थियो । ति सदस्यका अनुसार लिखित स्पष्टीकरण चित्त नबुझेपछि मंगलबार कार्बाही सिफारिस गरिएको हो ।

 

दुलालले गाउँपालिकाकै एक महिलासंग फेसबुक च्याटमा अपाच्य संवाद गरेको स्क्रिन सटमा देखिन्छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका स्क्रिन सटहरुमा दुलालको निजी तस्बिर समेत देखिन्छ । उनले ति महिलालाई निजी भाग देखाउन भनेका छन् । ति महिलाले आफूलाई गाउँपालिका अध्यक्षले अपाच्य सन्देश पठाएको भन्दै आफ्नी नन्दलाई देखाएपछि च्याटका स्क्रिन सट सार्वजनिक भएको खुल्न आएको छ ।

 

उक्त स्क्रिन सट सार्वजनिक भए लगतै गाउँपालिका अध्यक्ष दुलालले आफ्नो फेसबुक पेज ह्याक भएको स्पष्टीकरण दिएका थिए । सो लगत्तै उनको फेसबुकबाट जिल्लाका बिभिन्न व्यक्तिहरुलाई रकम माग्दै सहयोगका लागि खाता नम्बर समेत पठाईएको थियो । ह्याकरले उक्त काम गरेको उनले बताएका छन् । यद्धपी फेसबुक ह्याक भएको बारे जिल्ला प्रहरी कार्यालयमा दुलालले उजुर गरेका छैनन् । नागरिक दैनिकबाट लिइएको हो ।

 

 

 

सम्बन्धित खबरहरु