काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम जारी गरेको छ । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

 

 

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम जारी गरेको हो । नेकपाद्धारा जारी कार्यक्रममा कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने रहेको छ ।

 

 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपाले सम्पुर्ण नागरिकको कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेको छ ।

 

 

विज्ञप्तिमा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम दायित्वबाट समेत पन्छिने कार्य सरकारको अत्यन्तै निकृष्ट र अमानवीय ब्यवहार भएको बताइएको छ । विप्लवले भनेका छन्, ‘सरकार उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ।

 

 

सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन्।’

 

 

राज्य सरकार र सम्बन्धितनिकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धनकुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको आरोप लगाइएको छ ।

 

 

 

सम्बन्धित खबरहरु