काठमाडौँ । कोभिड–१९ बाट देशभर हालसम्मकै धेरै संक्रमण दर २८.५४ प्रतिशत र सबैभन्दा बढी ३१ जनाको मृत्यु भएको छ । यो बुधबार साँझसम्मको विवरण हो । स्वास्थ्य मन्त्रालयले दिउँसोसम्म २६ जनाको मृत्यु भएको जनाएको थियो ।

एक सय जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोभिड देखिएको र एकै दिन हालसम्मकै धेरैको मृत्युको रेकर्ड कायम भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । मन्त्रालयका अनुसार बुधबार २० हजार ११८ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण देखिएको छ ।

हाल देशभर ४४ हजार ४७६ अर्थात् ३०.७० प्रतिशत सक्रिय केस छ । यसमध्ये काठमाडौंमा १८ हजार ८३२, भक्तपुरमा १ हजार ३०८ र ललितपुरमा २ हजार ९८९ जना गरी उपत्यकामा मात्रै कुल संक्रिय संक्रमित २३ हजार १२९ जना छन् । देशभर देखिएका कुल सक्रिय संक्रमितमध्ये ५२ प्रतिशत उपत्यकामा छन् ।

बुधबार थपिएका नयाँ संक्रमितमध्ये ३ हजार १०७ अर्थात् ५४.१० प्रतिशत काठमाडौं उपत्यकामा छन् । हाल ३५६ जना सघन उपचारमा छन् । यसमध्ये २६९ जना आईसीयू र ८७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १५२ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा छन् ।

हाल मुस्ताङ मात्र सक्रिय संक्रमित शून्य रहेको जिल्ला हो । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १५ वटा जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली छन् । कोरोना संक्रमणबाट बुधबार हालसम्मकै धेरै ३१ जनाको मृत्यु पुष्टि भएको छ । उपत्यकाका मात्रै १३ जना छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु