लवीना टन्डन । स्टीलको दुनियाँका बादशाह लक्ष्मी मित्तलका कान्छो भाइ प्रमोद मित्तलले आफ्नी छोरीको विवाहमा ७ अर्ब ७८ करोड भन्दा धेरै रूपैयाँ खर्च गरेका थिए ।

तर अब उनी बेलायतको सबैभन्दा ठूलो कंगाल भएका छन् । उनी भन्छन् कि उनीहरुसँग करीव २५४ करोड पाउण्ड अर्थात ३ खर्ब ९२ अर्ब ११ करोड भन्दा धेरै रुपैयाँ ऋण रहेको छ । उनी आफ्नी श्रीमतीको खर्चमा बाँचिरहेका छन् । ऋण कै कारण उनी देशकै ठूलो कंगाल घोषित भएका छन् ।

६४ वर्षीय मित्तललाई यस गर्मीमा लन्डनको इन्सोलभेन्सी एण्ड कम्पनी अदालतले कंगाल घोषित गरेको हो । उनीहरुसँग कुल ऋण ३ खर्ब ९२ अर्ब ११ करोड भन्दा धेरै रुपैयाँ रहेको छ ।

यसमा १७ करोड पाउण्ड अर्थात २६ अर्ब भन्दा धेरै ऋण समावेश छ, जुन उनले ९४ वर्षीय बुबाबाट लिएका हुन् । यसैगरी उनले पत्नी संगीताबाट ११ लाख पाउण्ड अर्थात झण्डै १७ करोड, छोरा दिव्येशबाट २४ लाख पाउण्ड अर्थात ३७ करोड भन्दा धेरै र आफन्त अमित लोहियाबाट ११ लाख पाउण्ड अर्थात झण्डै १७ करोड ऋण लिएका छन् ।

उनका अनुसार अब उनीसँग १.१० लाख पाउण्ड अर्थात झण्डै १ करोड ७० लाख सम्पत्ति रहेको छ । अहिले उनको आम्दानी हुने कुनै पनि व्यवसाय रहेको छैन । मित्तल आफ्ना ऋणिहरूलाई कुल ऋणको एकदम सानो अंश दिन सक्ने अवस्थामा रहेका छन् ।

उनलाई आशा छ कि उनले यस कंगालीपन समस्याको समाधान चाँडै भेट्टाउनेछन् । उनले सबैभन्दा धेरै ऋण ब्रिटिश भर्जिन टापु कम्पनी डायरेक्ट इन्भेस्टमेन्ट लिमिटेडबाट लिएका छन् । उनले ब्रिटिश भर्जिन टापु कम्पनी डायरेक्ट इन्भेस्टमेन्ट लिमिटेडलाई १०० करोड पाउण्ड अर्थात १ खर्ब ५४ अर्ब भन्दा धेरै ऋण तिर्न बाँकी रहेको छ ।

प्रमोद मित्तलले सन् २०१३ मा आफ्नी छोरी सृष्टिको लगानीकर्ता बैंकर गुलराज बहलसँग विवाह गराएका थिए । यसमा उनले आफ्नो भाई लक्ष्मी मित्तलकी छोरी वनिषाको विवाह भन्दा धेरै खर्च गरेका थिए । जानकारी अनुसार उनले उक्त विवाहमा ५ करोड पाउण्ड लगभग ७७ अर्ब बढी खर्च गरेका थिए ।

अहिले मित्तल भन्छन्, ‘मसँग अहिले कुनै आय छैन । मेरो श्रीमती आर्थिक रूपमा स्वतन्त्र छिन । हाम्रो बैंक खाताहरू पनि अलग–अलग छन् । म तिनीहरूको आयको बारेमा धेरै कम जानकार छु ।

मेरो खर्च मासिक लगभग २ हजारदेखि ३ हजार पाउन्ड अर्थात २ देखि ३ लाख हुन्छ । मुख्यतयाः मेरी श्रीमती र परिवारले खर्च चलाइरहेका छन् । मेरो कंगाली प्रक्रियाको कानूनी खर्चहरू पनि अरु कसैले गर्दैछ ।’

मित्तल उत्तर बोस्नियाको मेटलर्जिकल कोक उत्पादन कम्पनी ग्लोबल इस्पात कोकसाना इन्डस्ट्रीलीजा लुकावाक (जीआईआईसीआईएल) का सह–मालिक थिए । उनी यसको सुपरवाइजरी बोर्डको अध्यक्ष समेत रहेका थिए । समस्या के भयो भने उनले यस कम्पनीको ऋणका लागि उनले व्यक्तिगत ग्यारेन्टी दिएका थिए ।

यहाँबाट उनका खराब दिनहरू सुरु भएको मान्न सकिन्छ । सन् २०१३ मा, कम्पनी घाटामा गएका कारण लगभग १६।६ करोड डलर अर्थात झण्डै २० अर्बको ऋण तिर्न असफल भयो । प्रमोद मित्तललाई गत वर्ष उक्त कम्पनीका दुई अन्य अधिकारीहरूसहित पक्राउ गरिएको थियो ।

भारतमा पनि सार्वजनिक कम्पनी राज्य ट्रेडिङ कर्पोरेशन (एसटीसी) सँग करीव २,२०० करोड रूपैयाँ (भारु) को जालझेल गरेको आरोपमा मनी लान्डरिङ्गको मुद्दा चलिरहेको छ ।

सम्बन्धित खबरहरु