काठमाडौं । बिहीबार नेपाल पसेका भारतिय जासूसी संस्था रिसर्च एन्ड इन्टेलिजेन्स विङ्स (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि पनि संकटमा परेका छन् ।

 

 

गोयल नेतृत्वको नौ सदस्यीय टोलीको एक दिने भ्रमणले नेपालको राजनीतिक वृत्त तरंगित भइरहेको बेला प्रधानमन्त्री ओलीले जारी गरेको दशैंको शुभकामना सन्देशलाई लिएर बबाल भएको छ । सामाजिक सञ्जालमा कालापानी क्षेत्रबिनाको नक्सा भएको निशान छाप प्रयोग गरिएको भन्दै चर्को आलोचना सुरु भएको छ । शुक्रबार (आज) फुलपातीको दिन प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटर र फेसबुक अकाउन्टबाट अंग्रेजी र नेपाली भाषामा शुभकामना सन्देश जारी गरेका छन् ।

 

 

प्रधानमन्त्री ओलीले आफ्नो फोटोको छेउ निशान छाप राखेका छन् तर त्यसमा चुच्चो देखिएको छैन । त्यसको तल लेखिएको छ–२०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहित अन्य व्यक्तिहरुले प्रधानमन्त्रीको शुभकामना सन्देशमा लिम्पियाधुरासहितको नक्सा नहुनुलाई सामान्य मान्न नहुने बताएका छन् ।

 

 

धेरैले यस कुरालाई गोयलसँगको भेटघाटसँग पनि जोडेर हेरेका छन् । अर्कोतिर प्रधानमन्त्री ओलीको सचिवालय भने प्रधानमन्त्रीमाथि लागेका आरोप स्वीकार गर्न तयार छैन । सचिवालय त्यहाँ प्रयोग भएको निशान छापमा लिम्पियाधुरासहितको नक्सा भएको दाबी गर्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सानो भएकाले नक्साको चुच्चो नदेखिएको बताउँछन् ।

 

थापाले प्रधानमन्त्री ओलीको सन्देशमा चुच्चो भएको कुरा बुझाउनका लागि विश्‍व मानचित्रको सहारा लिएका छन् । उनले विश्‍व मानचित्रमा नेपाल केबल थोप्लो मात्रै देखिन्छ, अब त्यसैलई लिएर विरोध गर्न थाल्ने त भन्दै प्रश्न गरेका छन् । यस विषयमा विरोध गर्नेहरुलाई उनले कुरै नबुझी उफ्रिने ट्विटेहरु भनेका छन् ।

 

 

सानो आकार र एकै रंगको भएकाले चुच्चो नदेखिएको बताउँदै उनले हटाइएको वा त्रुटी गरिएको कुरा सत्य नभएको स्पष्ट पारेका छन् । निशान छापमा चुच्चे नक्सा भएको बताउँदै उनले हेर्न नजान्‍नेहरुले नदेखेर विरोध गर्न खोजेको आरोप लगाएका छन् ।

 

 

गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो । संविधानको निशान छापमा भएको नक्सा परिवर्तन गर्न संविधान संशोधन गरिएको थियो ।

 

https://twitter.com/kpsharmaoli/status/1319483386629509120

 

 

सम्बन्धित खबरहरु