काठमाडौ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सैनिक मञ्‍च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाईं समारोह सम्पन्न भएको छ ।

 

 

कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरे पश्‍चात बढाईं टोलीले राईफलबाट विभिन्‍न पाटाहरुबाट छिटो लहरे बढाईं, लहरे बढाईं, एकठ्ठा बढाईं र तोपबाट बढाईं गरेको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुको साथै नेपाली सेनाको ब्यान्डबाट छोटो प्रदर्शन पनि गरेको थियो।

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै यस पटकको कार्यक्रमलाई प्रतिकात्मक रुपमा मात्रै मनाइएको र विगतको भन्दा धेरै सानो टुकुडीले मात्र बढाईं कवाज प्रदर्शन गरेको थियो भने सहभागिहरुको संख्या पनि न्यून राखिएको थियो ।

 

नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाईं समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथीहरु लगायत सिमित सञ्‍चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

यस अघि जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट सहायक रथी र महा सेनानी दर्जामा पदोन्नती हुनेहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुको साथै १४ जना प्रमुख सुवेदार र सुवेदारहरुलाई मानार्थ उप सेनानी दर्जाको चिन्ह तथा श्री नं. १४ बाहिनी अड्डालाई प्रधानसेनापति प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

 

सोही क्रममा श्री नं. १४ बाहिनी अड्डा, श्री नेपाली सेना मेडिकल कोर, श्री वीरेन्द्र अस्पताल लगायत ३९ जना नेपाली सेनाका सकल दर्जा, सीसीएमसी का संयोजक सचिव, रक्षा संवाददाता पत्रकारहरु र गैह्र सैनिक व्यक्तिहरु गरी ६ जनालाई प्रधानसेनापति प्रशंसा निशान पदक समेत प्रदान गर्नु भएको थियो ।

 

 

सम्बन्धित खबरहरु