भोजपुर । समाजमा सय वर्ष उमेर काटेको मान्छे प्रायः कमै मात्र भेटिन्छन् तर भोजपुरमा एक व्यक्ति १ सय ८९ वर्ष उमेरका छन् । उनको सरकारले दिएको आधिकारीक प्रमाणका आधारमा भन्ने हो भने उनी नै विश्वका सबैभन्दा बढी बाँच्ने मानिस हुन् । तर सत्य त्यो हैन ।

ती व्यक्ति उमेर अनुसार बुढा भने छैनन् । उनको नागरिकतामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ८९ वर्ष पूरा भएको छ । सदरमुकामदेखि २ दिन लाग्ने साल्पासिलिछो गाउँपालिकास्थित साविकको खाटम्मा गाउँ विकास समिति वार्ड नं.–७ का खम्बधन राईको जन्म मिति नागरिकतामा बिक्रम सम्बत १८८६ साल रहेको छ ।

राईको २०४१ साल चैत ५ गते भोजपुर जिल्लाबाट जारी भएको नागरिकतामा जिल्ला प्रशासन कार्यालय, भोजपुरका तत्कालीन प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । राई भने ९० वर्ष पनि पुगेका छैनन् ।

नागरिकता सच्याउन २ दिनको पैदल हिँडेर सदरमुकाम जानुपर्ने भएको तथा वृद्ध भत्ता खानबाहेक खासै यसको काम पनि नदेखेकाले नागरिकता नसच्याएको राईले बताउनुभयो । अचम्मको कुरा त के छ भने यही नागरिकताका आधारमा उनले वृद्धभत्ता भने थापिरहेका छन् ।

सम्बन्धित खबरहरु