
काठमाडौ । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् । विगतमा छातीको क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा आईसीयूमा राखिएको थियो । उनले अहिले बाँच्छु जस्तो नलागेको अवस्थाबाट अब पुनर्जीवन पाए भन्ने अवस्थामा आएको प्रतिक्रिया जनाएकी छिन् ।
शुक्रबारबाटै उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लगत्तै सामाजिक सन्जालमा लामो स्टाटस राख्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् । ‘पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छु जस्तै लागेको थिएन,’ उनले लेखेकी छन्, ‘‘आज कोरोना नेगेटिभ भएको नतिजा आयो ।
लाग्यो मैले पुनर्जीवन पाएँ । पहिलेपनि क्यान्स जित्दा पुनर्जीवन पाएको अनुभूति भएको थिए । फेरीपनि पुनर्जीवन पाएको महसुस भएको छ उनले जनबोलीसँग थप प्रतिक्रिया दिइन् । उनको अनुभवमा यो उनको २ पटकको पुनर्जीवन हो ।
१९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसक्ने उनले उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थें ।
बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो । तर म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसुस गर्थें । यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ ।’
चौधरी अस्पतालबाट अझै डिस्चार्ज भएकी छैनन् । कोरोनामुक्त भए पनि बाफ लिने क्रममा खुट्टा पोलेकाले पनि केही दिन अस्पतालमा बस्नु पर्ने उनले बताएकी छन् । ‘कोरोनामुक्त भएपनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ,’ नेकपा सचेतक चौधरीले लेखेकी छन् ।
आफूलाई पुनर्जीवन दिएको भन्दै उनले वीर अस्पतालका सबै डाक्टरहरू, नर्सहरू र अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
‘उहाँहरुले मृत्युको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो । बेलाबेलामा हौसला दिइरहनु भयो । विशेष विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें । उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला,’ चौधरीले फेसबुकमा लेखेकी छन् ।
कसैका परिवारलाई पनि अस्पतालमा बस्नु नपरोस्, अस्पताल खोज्दै हिँड्नु नपरोस् र कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्ने शक्ति मिलोस् भनेर उनले सबैमा दशैंको शुभकामना पनि दिएकी छन् । हेरौ स्टाटस
आभार
~~~~~~~~~
जोगिने कति नै कोशिस गर्दा पनि आखिर कोरोनाले आक्रमण गरिछाड्यो। पुरै १९ दिनको अस्पत्ताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न सकिंदैन। पहिले देखिका गम्भीर रोगहरुको कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ। पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकोले पनि बाँच्छु जस्तै लागेको थिएन।
यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना निगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ।
वीर अस्पत्तालका अति सघन उपचार कक्षको बेडमा बडो मुश्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसूस गर्थे। बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो। तर म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसूस गर्थें। यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ।
अझै म डिस्चार्ज भएकी छैन। यसैबिचमा बाफ लिंदा तातो पानीले खुट्टा पोलेर अर्को असह्य पीडा थपिएको छ। त्यसैले कोरोनामुक्त भएपनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ।
मैले लाखलाख धन्यवाद दिनुपर्ने पार्टीका श्रध्देय कामरेडहरू हुनुहुन्छ। मेरा समर्थक, शुभचिन्तक र नातागोताहरू हुनुहुन्छ। उहाँहरूलाई अहिले एकमुष्ट धन्यवाद दिन्छु। वीर अस्पत्तालका सबै डाक्टरहरू, मेरो सेवामा अहोरात्र खटिने नर्सहरू र समस्त अस्पत्ताल परिवार प्रति म कृतज्ञ छु। उहाँहरुले मृत्यूको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो। बेलाबेलामा हौसला दिइरहनु भयो। विशेष विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें। उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला।
अन्तमाः सबै सबैमा धेरै आधार व्यक्त गर्न चाहन्छु। अस्पत्तालबाट विदा हुँदाको दिन फेरि लेखुँला। विजया दशमीको सबैमा शुभकामना दिन चाहन्छु। कसैका परिवार पनि यो समयमा अस्पत्ताल बस्नु नपरोस्। अस्पत्ताल खोज्दै हिड्नु नपरोस्। हामी सबैमा यो कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्न शक्ति मिलोस्। धन्यवाद।