काठमाडौं । आज बिहान अचानक भएको विवादले सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तनाव भएको छ । शनिबार बिहान मस्जिदको केही भाग भत्काएको हो । शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग भत्काएको जनाइएको छ । अहिले महर्जनलाई प्रहरी नियन्त्रणमा रहेका छन् ।

१०० वर्ष भन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइन्छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको आरोप लगाएका छन् ।

निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद रहेको काठमाडौं महानगरपालिका–२२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न चेतावनी दिने गरेको बताइन् । मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् ।

सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् । यसैबीच डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुन: निर्माण सुरु गरिएको छ ।

सम्बन्धित खबरहरु