काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलसँग भेट गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रै आलोचना गर्न थालिएको छ । उक्त भेटलाई कुटनीतिक आचारसंहिता बिपरीत भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।

 

 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले यस्तो किसिमको भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताउनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता बिपरीतको यस्तो भेट किन ?’,

 

उनले लेखेका छन्, ‘यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।’ प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेट हुनेबारे पार्टी कुनै जानकारी नभएको बताउनु भएको छ । उहाँको फेसबुक स्टाटस यस्तो रहेको छ ।

 

केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘रअ’ प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग ‘रअ’ गरेर फिर्ता भएछन् ।

 

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो ।

 

 

मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।

 

बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो ।तर त्यस्तो पनि देखिएन ।त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किनरुयसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।

 

 

सम्बन्धित खबरहरु