प्रकाश पन्त, बीबीसी न्यूज नेपाली । जाजरकोट नलगाड नगरपालिका हल्चौरका गणेश खत्रीले दशैँको टीका साँझपख लगाउन थालेको धेरै भयो। "मैले ७३ वर्षको हुँदा पनि अहिलेसम्म साइतमा पारेर दशैँको टीका लगाउन पाएको छैन," उनी भन्छन्, "कामको चटारोले गर्दा साइतको मतलबै हुँदैन।"

 

गाईभैँसी नपाली, खेतीपाती नगरी दुई छाक जुटाउन गाह्रो पर्ने हुँदा टीका र जमरा लगाएर घाँसदाउरा जानुभन्दा बरु काम सकेर ढुक्कसँग साँझमा लगाउने गरेको उनले बताए । दशैँका बेला पनि उनीजस्ता सर्वसाधारण किसानको दैनिन्दिनीमा खासै फरक पर्दैन।

 

 

प्रायः दशैँको समयमा धान भित्र्याउन तथा गहुँ र जौ छर्न भ्याइनभ्याइ हुने जाजरकोट, रुकुम पश्चिम, सल्यान र दैलेखका किसानहरू बताउँछन्। उनीहरू भन्छन्, "एउटै घरका परिवार पनि पशुचौपाय पाल्न अलगअलग ठाउँमा बस्नु पर्ने बाध्यताले दिनमा भेला भएर टीका लगाउने अवसर नै जुट्दैन।"

 

साइतका बेला मूल ढोकामा टीका
घरको सम्पूर्ण काम सकेपछि सधैँ साँझतिर भेला भएर मानिसहरू दशैँको टीका लगाउँछन्।

 

टीकाको साइतमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुन नसक्ने भएकाले घरको मूल ढोकामा टीका र जमरा लगाएर साइत छोप्ने अनि साँझतिर टीका लगाउने गरिएको रुकुम पश्चिमकी रेश्मा विक बताउँछिन्।

 

"साइत छोपिसकेपछि साँझतिर आफन्तहरू भेला भएर टीका लगाउने, नाचगान गर्ने, खानपिन गर्ने गरेर रमाइलोसँग दशैँ मनाउँछौँ," उनले भनिन्। दशैँको टीका सधैँ साँझतिर लगाउँदै आएको बताउने उनी दिनमा टीका लगाएर कामकाजमा निस्किएर अलग हुनुभन्दा साँझतिर जम्मा भएर लगाउँदा रामाइलो हुने बताउँछिन् ।

 

अहिले बिजुलीबत्ती, सोलारको उज्यालोमा टीका लगाउने गरे पनि पहिलेपहिले सल्लीको दियालोको भर पर्नुपर्ने अवस्था थियो।

 

दशैँमा पनि कामकै चटारो
दिनभरि काममा व्यस्त रहने र साँझ फुर्सद निकालेर दशैँको टीका लगाउने चलन गाउँघरतिर धेरै पहिलादेखि चलिरहेको बुझिन्छ। "कामले गर्दा वर्षमा एक दिन पनि आनन्दसँग दशैँ मनाएको पाइँदैन," शिक्षक चन्द्रबहादुर रावलले भने, "कामको चटारोले गाउँतिर दशैँ नै खल्लो हुन्छ।"

 

छरपस्ट बसाइले गर्दा ठूलो परिवारका सदस्यहरू एकै ठाउँ भेला भएर टीकाटालो गर्दा रातभरि लाग्ने उनी बताउँछन्। गाउँमा कतिले भने साइत पारेरै दशैँको टीका लगाउँछन् । तर बानी नै परिसकेको हुनाले घरछिमेकीले लगाएको देख्दा पनि नरमाइलो अनुभूति नहुने साँझपख टीका लगाउने मानिसहरू बताउँछन् ।

 

दशैँको बेला पनि कामको चटारोले नछोड्ने भएकाले साँझतिर नै टीका लगाउँदा अप्ठ्यारो महसुस हुँदैन । कतिले भने फुर्सद भएर पनि कुलदेवताको पूजा गरेर साँझतिर मात्रै टीका लगाउँछन्।

 

बाउबाजेकै चलनको निरन्तरता
कुलदेवता र पितृको नाममा घरको मूलढोकामा टीकाजमरा लगाएर साइत छोपिसकेपछि आफूलाई अनुकूल पर्नेगरी टीका लगाउन सकिने रुकुम पश्चिमकी रेश्मा विक बताउँछिन्।

 

उनी भन्छिन्, "बाउबाजेकै पालादेखि चल्दै आएको चलनलाई हामीले पनि छोड्न सकेका छैनौँ।" टाढाबाट आउने आफन्तलाई अनिवार्य रूपमा पर्खिनुपर्ने बाध्यताले गर्दा कतिले भने साइतको टीका छुट्ने गरेको बताउँछन्। कामको बोझले गर्दा सुखसँग चाडपर्व पनि मनाउन नपाउने अवस्थामा कर्णालीका किसानहरू रहेको वास्तविकता यसबाट झल्किन्छ ।

 

साँझबिहानको छाक जुटाउनकै लागि आफ्नो खुसी र आनन्दलाई पनि थाती राखेर दिनभरि काममा जोतिनुपर्ने बाध्यतामा उनीहरू छन् ।

 

दोहोरो टीका
बडादशैँको टीका ठूलाबडाको हातबाट लगाएर आर्शीवाद लिनुपर्ने भए पनि कर्णालीका गाउँघरतिर भने दोहोरो टीका लगाउने चलन छ। सानोदेखि ठूलोसम्म सबैले दशैँको दोहोरो टीका र जमरा लगाइदिन्छन्।

 

दोहोरो टीका लगाउँदा धेरै समय लागे पनि आत्मीयता भने बढ्ने उनीहरूको भनाइ छ। सहर बजारतिर टीकाको साइतलाई महत्त्व दिने गरिए पनि गाउँघरतिर भने त्यसलाई खासै महत्त्व दिइँदैन । दशैँको दिन कतिपयले भने साइतको ख्यालै नगरी बिहानैदेखि टीका लगाउन सुरु गर्छन्।

सम्बन्धित खबरहरु