काठमाडौ । नेपालमा गत २४ घण्टामा १,७४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा कोभिड–१९ कारण १५ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८६२ पुगेको छ। गत २४ घण्टामा पाँच हजार छ वटा पीसीआर परीक्षण गरिएको थियो।

गत २४ घण्टामा चार हजार पाँचजना निको भएसँगै नेपालमा हालसम्म एक लाख १५ हजार ६७५ जना कोरोनाभाइरस भएर निको भएका छन्। निको हुने प्रतिशत ७२ दशमलव ४ प्रतिशत छ। नेपालमा सोमवारसम्म कुल एक लाख ५९ हजार ८३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

गत भदौ २४ देखि प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित भएका थिए।

असोज २४ गते ५,००८ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको थियो। मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दा पीसीआर परीक्षण बढी गरिएको दिन सङ्क्रमित पनि धेरै फेला पर्ने गरेका छन्।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने बताउँछन्। उनी भन्छन्, परीक्षण कम हुने गरेकोले अबका दुई तीन दिन कम देखिन सक्छ। त्यसपछि ह्वात्तै बढ्न सक्ने देखिन्छ। नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको भन्दै उनी यहीँ लहर नै खतरनाक हुन सक्ने उनी बताउँछन्।

सम्बन्धित खबरहरु