काठमाडौ । हिम्मत गरे असम्भव भन्नै छैन यस भनाईलाई चरितार्थ गर्ने युवा हुन् गजेन्द्र भट्टराई । उनी खाडीदेखि कोरियासम्म श्रम बेचेर फर्किएपछि नेपालमा आएर नेपाल सरकारको अधिकृत पदमा कार्यरत छन् ।

हुन त सरकारी सेवामा प्रवेश गर्नु, धेरै नेपाली युवाको सपना हुन्छ। त्यही सपना पूरा गर्न अहिले पनि लाखौँ युवा कडा मेहनतका साथ लोकसेवा तयारी गरिरहेका छन्।

लाखौंले लोकसेवामा परीक्षा सामना गर्छन्। सीमित परीक्षार्थीले परीक्षाफल आफ्नो पक्षमा पार्छन्।

वर्षौँको कडा मेहनतबाट लोकसेवाको नतिजा आफ्नो पक्षमा नआएपछि इलाम फाकफोकका गजेन्द्र भट्टराईले जिन्दगीको बाटो मोडे। खाडी मुलुक पुगे। खाडीबाट फर्केपछि धेरै कमाउने अभिलाषामा दक्षिण कोरिया पुगे।

खाडीदेखि कोरियासम्म गरी विदेशमा आठ वर्ष कडा श्रम बेचेका भट्टराई निजामति सेवामा प्रवेश गरेका छन्। खाडी र कोरियाको श्रमले उनलाई परिणाम निकाल्नलाई कडा श्रम चाहिने सिकाएको थियो।

पढाइ चटक्कै छाडेर विदेश गएका उनले निजामतिप्रतिको आशक्तिमा कमी हुन दिएनन्। फलतः स्वदेशी भूमिमा नै रमाउने अवसर प्राप्त गरे। ईलामको फाकफोक गाउँमा जन्मिएका उनले त्यहीँको सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। उनमा पढेरै केही गर्ने सोँच भए पनि निम्नवर्गीय पारिवारिक पृष्ठभूमिका कारण प्रमाणपत्र तहको अध्यययनलाई बीचैमा छाडेर खाडी मुलुक हानिनुपरेको उनले सुनाए।

मध्यपूर्वको देश साउदी पुगेका उनले त्यहाँ ३२ महिना श्रम गरेर केही आर्थिक जोहो गरे। खाडी पुगेका बेला उनलाई बीच बाटोमै रोकिएको अध्ययनप्रति पश्चाताप भइरहन्थ्यो। स्वाध्ययनको क्रमलाई साउदीको तातो घाममा सेलाउन दिएनन्।

स्वदेश फर्किएपछि पुनः अध्ययनलाई निरन्तरता दिएका उनले प्रमाणपत्र तह हुँदै विसं. २०६९ सालमा ताहाचल क्याम्पसबाट अंग्रेजी विषयमा स्नातक तहको अध्ययन सके। त्यसपछि लोकसेवाको तयारी गर्ने सोचमा उनी थिए। लोकसेवाको तयारी भन्दा कोरियाको कमाइको सोंच मनमा हाबी भइदियो। आर्थिक उपार्जनको बलियो बाटो खोजेका उनले दोश्रो बाटो कोरिया बन्न पुग्यो।

भाषा परीक्षा उत्तीर्ण गरेर २०७० सालमा कोरिया प्रवेश गरेका उनले कोरियामा अत्यन्तै कडा श्रम गर्नुपर्ने अवस्था बन्यो। समय र कामको महत्त्व कोरियाबाट थप बुझ्ने अवसर पाए। मोटरपार्टस् कम्पनीमा दैनिक १५ घण्टाभन्दा बढी काम गर्नुपर्ने भएकाले त्यहाँ बसुन्जेल स्वाध्ययनमा समय दिन नसकेको सुनाए।

कोरियामा ४ वर्ष १० महिना काम गरी स्वदेश फर्किए। लोकसेवाको तयारी गरेर सफलता हात पार्न सकिन्छ भन्नेमा उनमा प्रारम्भिक समयमा कमै विश्वास थियो। लोकसेवातिर नलागेर व्यवसाय गर्ने सोच पनि थियो। देश काल बुझेपछि लगानीका लागि उपयुक्त समय होइन भन्नेमा पुगे। पुरानै उद्देश्यमा फर्के। उही लोकसेवाको परीक्षा।

‘मलाई लोकसेवामा सफलता प्राप्त हुन्छ भन्नेमा अत्यन्तै न्यून आशा थियो, त्यसैले एकपटक हेर्छु भएन भने कोरियन भाषा पढेर पुनः कोरिया नै जान्छु भन्ने सोँच बनाएको थिएँ,’ उनले भने। अत्यन्तै छोटो समयमा पनि कडा मेहनतका साथ गरिएको अध्ययनका कारण आफूले सफलता प्राप्त गरेको उनले बताए।

अधिकृत पदमा खुलातर्फ २० जनाको कोटा रहेकोमा नवौँ नम्बरमा उनको नाम निस्किएको थियो। उनी कोरियामा काम गर्दा मेहनत अनुसारको कमाई हुने भएपनि कोरियाली रोजगारदाताबाट भने अत्यन्तै तल्लो स्तरको व्यवहार वा हेपाई सहनुपर्ने अनुभव सुनाउँछन्।

‘कोरिया रोजगारीमा जाने अधिकांश नेपाली युवाहरु यहाँका शिक्षित बेरोजगार हुन्। उनीहरुसँग एकेडेमिक सर्टिफिकेट भएर पनि स्वदेशमा रोजगारीको अभावमा त्यहाँ पुग्ने गर्दछन्। त्यसैले एउटा शिक्षित युवाका लागि कोरियाले महत्वपूर्ण पाठ सिकाउँछ, उनले भने।

भट्टराई हाल सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकामा शिक्षा अधिकृतको रूपमा सेवारत छन्।

एउटा विपन्न परिवारमा जन्मिएर सरकारी विद्यालयमा अध्ययन गरेको सामान्य व्यक्ति वर्षौंसम्म विदेशिएर श्रम बेचेकाहरूका लागि लागि सरकारी निकायमा प्रवेश गर्न चाहनेहरूका लागि प्रेरणा र उदाहरण बनेका छन् उनी। आर्थिक स्थितिका कारण पढाईलाई चटक्कै छाडेर विदेशिनु परेका नेपाली युवाका लागि एउटा ऊर्जा बनेका छन् गजेन्द्र। खाडीदेखि कोरियासम्म अर्काको देशमा पसिना बगाउन भौतारिँदाको पीडा सुनाउँदै उनी थप्छन्, त्यहाँ दुर्व्यवहार सहेर काम गर्नुपर्दथ्यो। यहाँ आफ्नै देशमा छु। इज्जतका साथ काम गर्न पाइएको छ।

भट्टराई हाल सरकारी सेवासँगसँगै समाजशास्त्र विषयमा स्नातकोत्तरको अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन्। इच्छाशक्ति भएमा जति लामो समयसम्म पढाइ रोकिए पनि त्यसलाई निरन्तरता दिएर सफलता प्राप्त गर्न सकिने उनी बताउँछन्।

उनी भन्छन्, ‘म करीब ५ वर्ष कोरियामा रहँदा बिहान अलार्म लगाएर उठ्ने र मध्यरातसम्म कडा मेहनत गरी फर्केर आएर सुत्नु पर्ने अवस्था थियो। पढ्ने अवस्था हुँदैनथ्यो। अहिले मेरो पढाईलाई पुरानै लयमा फर्काइसकेँ।’ गाउँपालिकाको शिक्षा शाखा प्रमुख रहेका उनी प्राविधिक शिक्षामा तीनै तहका सरकारहरूले जोड दिनुपर्ने धारणा राख्छन्। नेपाल लाईभबाट

सम्बन्धित खबरहरु