काठमाडौं । अब जाडोको मौसम सुरु भएको छ । मौसम चिसिदै गइरहेको छ । बढ्दो चिसोका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या देखिने गर्छन् । मौसमी चिन्ता त छ नै त्यो माथी यो बर्षको चीसोमा कोरोना भाइरस उत्कर्षमा छ । गतबर्ष चीसोमा नेपालमा कोरोना भाइपुगिसकेको थिएन । तर यो बर्ष छ । यसैले अब निक्कै चुनौतीपूर्ण हुनेछ ।

 

कोरोनासँगै मौसमी बिरामीका स्वास्थ्य समस्याका कारण राजधानीका मुख्य अस्पतालहरु भरिभराउ छन् । अस्पतालहरुमा चिसोले प्रभावित बिरामीको संख्या दैनिक बढिरहेको छ । यसको मुख्य कारण फ्लू र कोल्ड डाइरिया रोटा छ ।

 

 

फ्लू र कोल्ड डाइरिया रोटा भाईरस बाट कसरी बच्ने ?

चिसो मौसममा रुघाखोकीले बढी सताउने गर्छ । सरुवा रोग गर्मी महिनामा मात्र लाग्छ भन्ने अधिकांशको सोच छ । चिसोमा सरुवा रोगप्रति मानिसहरुको चासो हुँदैन, खासै ध्यान दिएको देखिँदैन । जाडोको समयमा खाना प्रशस्त खाइने र शारीरिक व्यायाम कम हुने हुँदा सामान्यदेखि दीर्घ रोगहरु लाग्ने सम्भवना हुन्छ ।

 

चिसो मौसममा सर्ने रोग विशेषतः खानापान र हावाजन्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ । खानपानमा झाडापखाला र हावाजन्यमा रुघाखोकी र फ्लू पर्दछ । रुघाखोकी र फ्ल्यूमा केही लक्षण मात्र फरक हुन्छन् ।

 

जाडोमा देखिने ज्वरो तथा रुघाखोकी मौसमी फ्लू मात्र नभइ स्वाइन फ्लू पनि हुन सक्ने बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन । ‘हामीले सामान्य रुघाखोकी भनेर सोच्छौं, तर त्यो रुघाखोकी मात्र नभएर फ्लू पनि हुन सक्छ ।’

 

डा. पुनले भने, ‘नेपालको सन्दर्भमा छठ पर्व पछि धेरै विरामी फ्लूको संक्रमणमा पर्ने गर्दछन् ।’ उनका अनुसार, एडिनो भाईरस राइनो भाईरसका कारण नाकबाट पानी बग्नु, ख्याकख्याक हुनु, हाछ्यु आउनु, शरीर आलस्य हुनु, सामान्य ज्वरो आउनु फ्लूका लक्षण हुन् ।

 

अचानक अत्याधिक ज्वरो आउनु, खोकी लाग्नु, छाती भारी हुनु (दुख्नु), कसै कसैलाई पातालो दिसा आउनु आदि लक्षण देखिएका विरामीको चाप अस्पतालमा बढिरहेको उनले बताए । यी लक्षण कोरोनासँग मिल्दाजुल्दा छन् ।

 

‘चिसो मौसममा यस्ता स्वास्थ्य समस्याबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेका छन् । वृद्धवृद्धा र बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरुमा छिट्टै संक्रमण फैलिने गर्छ ।’ त्यसैले ‘ज्वरो र रुघाखोकी लगातार लागेमा विशेष गरी बालबालिका, वृद्ध वृद्धा तथा दीर्घरोग लागेकाहरुले निकै सचेतता अपनाउन उनी आग्रह गर्छन् ।

 

कोल्ड डायरिया

चिसो मौसममा हुने अर्को समस्या हो, कोल्ड डायरिया । रोटा भाइरसका कारण कोल्ड डायरिया हुने गर्छ । रोटा भाइरस संसारकै खतरनाक भाइरस हो । दक्षिण एसियाली मुलुकमा (जाडो मौसममा) झाडापखलाबाट ५० प्रतिशत मानिस प्रभावित हुने गरेका छन् । नेपालमा पनि झन्डै ३० देखि ४० प्रतिशत मानिस कोल्ड डायरियाबाट प्रभावित हुने गरेका छन् ।

 

कोल्ड डायरियाको संक्रमण शहरी क्षेत्रमा भन्दा गाउँघरमा बढी जोखिम हुने उनी बताउँछन् । पछिल्लो समय गर्मी मौसममा झाडापखालाका बिरामी घट्दै गएको तथ्यांक छ । तर, जाडो मौसममा झाडा पखाला हुने बिरामीको तथ्याङ्क भने स्थिर रहेको उनले बताए ।

 

 

सम्बन्धित खबरहरु