काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले पछिल्लो त्रैमासिकमा कीर्तिमानी आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले ५९ अर्ब डलर अर्थात् ६० खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको रिपोर्ट सार्वजनिक भएको छ ।

 

कम्पनीले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट अनुसार चालू सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङका स्मार्टफोनको बिक्रीदरमा ५० प्रतिशतले वृद्धि भएको छ भने माइक्रोचिप्सको बिक्री ८२ प्रतिशतले बढेको छ ।

 

 

स्मार्टफोन र माइक्रोचिप्सको बिक्रीमा भएको उच्च वृद्धिका कारण सामसुङको आम्दानीमा उछाल आएको हो । यस अवधिमा सामसुङका प्रिमियम टेलिभिजन तथा होम एप्लाइन्सेसहरुको बिक्रीमा समेत वृद्धि भएको छ ।

आम्दानीसँगै कम्पनीको मुनाफामा पनि उच्च वृद्धि भएको छ । तेश्रो त्रैमासिकमा सामसुङले खूद मुनाफा ८ अर्ब ३० करोड डलर मुनाफा गर्न सफल भएको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ४९ प्रतिशतले बढी हो ।

 

विश्लेषकहरुका अनुसार अमेरिकाले चिनिया कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएसँगै सामसुङका स्मार्टफोन र चिपको बिक्रीदर ह्वात्तै बढेको हो ।

 

यसबाट सामसुङले हुवावेको बजार हिस्सा कब्जा गरिरहेको र अमेरिकी प्रतिबन्धले चिनिया कम्पनी हुवावेलाई ठूलो असर परेको देखिएको छ ।

 

गत अगष्ट महिनामा अमेरिकी वाणिज्य विभागले एक घोषणा गर्दै लाइसेन्स विना हुवोलाई चिप्स बिक्री गर्ने विदेशी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने बताएको थियो । ट्रम्प प्रशासनले मुलुकको राष्ट्रिय सुरक्षाको कारण देखाउँदै हुवावेमात्र नभई टिकटक र विच्याट जस्ता चिनिया कम्पनीहरुमाथि पनि प्रतिबन्धको घोषणा गरिसकेको छ ।

 

चम्किँदो चिप व्यवसाय

अमेरिकामा माइक्रोचिप उद्योग सम्वृद्ध बन्दै जाँदा सामसुङको चिपको व्यापार चम्किँदै गएको हो । स्मार्टफोन देखि कन्जुमर इलेक्ट्रोनिक्स र डाटा सेन्टर लगायका व्यवसायिक संरचनाहरुमा समेत व्यापक रुपमा प्रयोग हुने माइक्रोचिप्सको माग विश्व बजारमा अत्यधिक मात्रामा बढिरहेको छ ।

 

हालैमात्र माइक्रोचिप्स बनाउने कम्पनी एएमडीले अर्को कम्पनी जिलिंक्स खरीद गर्ने घोषणा गरेको छ । यसका लागि ए एमडीले ३५ अर्ब डलर खर्चिँदैछ ।

 

गत महिनामात्रै ग्राफिक्स चिपमेकर एनभिदियाले बेलायती सफ्टब्यांक अन्तर्गतको चिपमेकर कम्पनी खरीद गर्ने सम्झौता गरेको थियो ।

 

कोरोना महामारीले समेत चिप निर्माता कम्पनीहरुको आम्दानीमा उल्लेख्य बढोत्तरी गराएको छ । लकडाउनका कारण विश्वका करोडौँ मानिसहरु घरबाटै काम गर्न बाध्य भैरहेको बेला विभिन्न खाले डाटा चिप्सहरुको प्रयोग समेत बढिरहेको छ ।

 

यसबीचमा सामसुङ मात्र नभई दक्षिण कोरियाको अर्को चिपमेकर कम्पनी एसके हिनिक्सको मुनाफामा पनि उच्च वृद्धि देखिएको छ । – Telegraph 

 

सम्बन्धित खबरहरु